गैँडाकोटका प्रत्येक घर–घरमा गएर क्षयरोगको खोजपड्ताल गरिने 

२०८१ असार ८ शनिबार १७:३६:०० मा प्रकाशित

गैँडाकोट । गैँडाकोटका प्रत्येक घर–घरमा गएर क्षयरोगको खोजपड्ताल गर्न लागिएको छ । यहि असार १० गतेदेखी १४ गतेसम्म ५ दिनसम्म नगरका सबै क्षेत्रमा खोजपड्ताल गरी क्षयरोगको पहिचान गर्न लागिएको क्षयरोग मुक्त अभियान गैँडाकोटका संयोजक नारायण सापकोटाले जानकारी दिनुभयो । 

क्षयरोग जोखिम समूह तथा स्वास्थ्य सेवाको पहुँच कम भएका समुदायमा सक्रिय खोजपड्तालका लागि अभिमुखिकरण तथा स्क्रिनिङ शिविरमा सो कार्यका लागि तीन दिनसम्म स्वयम्सेवकहरुलाई अभिमुखिकरण गरिएको छ । गैँडाकोट नगरपालिका स्वास्थ्य शाखाको आयोजनामा गैँडाकोट नगर अस्पतालमा भएको कार्यक्रममा स्वयम्सेवकहरुलाई क्षयरोग मुक्त अभियान गैँडाकोटका संयोजक नारायण सापकोटा, स्वास्थ्य निरीक्षकहरु प्रकाश पोख्रेल, माधव आचार्य, पुष्पराज श्रेष्ठले अभिमुखिकरण गर्नुभएको थियो । 

क्षयरोग जोखिम समूह तथा स्वास्थ्य सेवाको पहुँच कम भएका समुदायमा सक्रिय खोजपड्तालका लागि यसअघि नै हरेक वडामा १ जना संयोजक र सामुदायिक महिला स्वास्थ्य स्वयम्सेविका गरी ६२ जना चयन गरिएको छ । उनीहरुलाई क्षयरोग पहिचान गर्ने तरिका, खकार संकलन, उपचार विधीबारे जानकारी गराइएको छ । उनीहरुले क्षयरोगको पहिचान, संकास्पद व्यक्तिको खकार परीक्षण गरी निदान गर्नेछन् । 

क्षयरोगमुक्त नगरपालिका घोषणाका लागि अभियान सञ्चालन गरिएको हो । नगरमा हालसम्म १०० वढीमा पहिचान भइसकेको छ । गैँडाकोटमा गत आर्थिक वर्ष १२९ जनामा क्षयरोग देखिएको थियो । यसअघि वडा तहमा वडा अध्यक्षको संयोजकत्वमा क्षयरोग मुक्त वडा समिति गठन गरि स्थानीयका तर्फबाट खोज पड्ताल कार्यक्रम सञ्चालन गर्न स्वयम्सेवक चयन गरिएको थियो । 

विश्वमै क्षयरोग जनस्वास्थ्य र दिगो विकासका लागि प्रमुख चुनौती रहँदै आएको छ । यो सरुवा रोग उच्च मृत्युदर भएका १० वटा रोगमध्ये एकको रूपमा रहँदै आएको छ । गरिबी, अशिक्षा, चेतनाको कमी, आन्तरिक बसाइँसराइ र खुला सिमाना आदि कारणले क्षयरोगबाट सङ्क्रमित हुने दर बढ्दो छ । अध्ययनहरू अनुसार मूलतः गरिब र सीमान्तकृत समूहमा क्षयरोगको जोखिम बढी पाइएको छ ।