गैँडाकोटमा नदीको बीचमा फसेका दुईजनाको ७ घण्टा पछि सकुशल उद्धार 

२०८१ असार २३ आइतबार ०६:३४:०० मा प्रकाशित

गैँडाकोट । गैँडाकोट ६ स्थित नारायणी नदीको बीचमा फसेका दुई जनाको ७ घण्टापछि सकुशल उद्धार गरिएको छ ।

नदी बढेपछि माछा पाइने भनेर माछा मार्न गएका गैंडाकोट ५ गणेशमन्दिर निवासी खुमबहादुर गुरूङ र ओमबहादुर गुरूङ गैंडाकोट ६ बोटेटोल प्रवेश गरेका थिए । छेउमा स्कुटर राखेर माछा मार्न बोटे टोलबाट पश्चिम चाइना टाउन पुग्ने बित्तिकै चारैतिरबाट उनीहरूलाई नदिले घेरिसकेको थियो । पौडी खेल्न नजान्ने दुवैजना जति पानी बढ्छ उति नदी बिचमा रहेको टापुमा सर्दै जान्थे । यो जानकारी पाएका वडाध्यक्ष शुभाष चापागाईंले दिउँसोदेखि नै जिल्ला प्रहरी कार्यालय, रेडक्रस र सशस्त्र प्रहरीलाई खबर पनि गरेका थिए ।

मौजुदा सशस्त्र प्रहरी र इलाका प्रहरी कार्यालय गैंडाकोटको टोलीले पटक–पटक प्रयास गर्दा पनि त्यहाँ पुग्न सकेको थिएन । यसपछि चितवनबाट सशस्त्रको गोताखोर टोलीलाई बोलाइएको थियो । उक्त टोलीले उनीहरूलाई ७ घण्टा पछि साँझ सकुशल उद्धार गरेको  छ ।

उद्धार पछि हाम्रो संक्षिप्त कुराकानीमा पुनर्जीवन पाएको बताएका छन् । उनीहरूको स्कुटर भने नदीमा डुबानमा परेको जनाइएको छ ।