भिडिआरसीको स्थापना दिवसमा सहकारीको सुशासनबारे अन्तक्रिया गरिदै 

२०८१ असार २५ मंगलबार ०७:४३:०० मा प्रकाशित


गैंडाकोट । विजय विकास स्रोत केन्द्रले आफ्नो स्थापना दिवसका अवसरमा सहकारीका सन्दर्भमा अन्तक्रिया कार्यक्रम गर्न लागेको छ । अषाढ २६ गते अर्थात भोली, स्थापना दिवशमा केन्द्रले “सहकारीमा सुशासन : असल अभ्यास, चुनौतीहरु र अबको बाटो” विषयमा प्यानल छलफल गर्न लागेको छ । समूह छलफलमा काठमाण्डौ विश्वविद्यालयका रजिष्ट्रार प्राध्यापक डाक्टर अच्युत वाग्ले, सहकारी एवं लघुवित्त विज्ञ नम्रता शर्मा, नेफ्स्कुनका अध्यक्ष चन्द्र ढकाल, राष्ट्रिय सहकारी बैङ्कका प्रमुख कार्यकारी अधिकृत बद्रिप्रसाद गुरागाईं रहनुहुनेछ ।

कार्यक्रमको टिप्पणी कर्तामा सामाजिक एवं राजनीतिक विश्लेषक हरि शर्मा र सहजकर्तामा सहकारी विज्ञ केशवप्रसाद सापकोटा रहनुहुनेछ । यस कार्यक्रममा विकू बचत तथा ऋण सहकारी संस्था लिमिटेडका अध्यक्ष प्रेम सापकोटा र महिला मिलन बचत तथा ऋण सहकारी संस्थाका प्रमुख व्यवस्थापक फुलमाया मोक्तानले सहकारीका असल अभ्यासका सन्दर्भमा प्रस्तुती राख्नुहुनेछ । 


समूह छलफल कार्यक्रममा विकू बचत तथा ऋण सहकारी संस्था लिमिटेड, सामुदायिक रेडियो विजय एफएम १०१.६ र विजय खबर पत्रिकाका सहकार्य संस्थाको रुपमा रहेका छन् । सहकारीका विषयमा हुने छलफल कार्यक्रमको प्रत्यक्ष प्रसारण सामुदायिक रेडियो विजय एफएममा र विजय एफएमको फेसबुक पेजमा प्रत्यक्ष प्रसारण हुनेछ । 


४६ औँ स्थापना दिवशका अवसरमा विहान ७ बजे कालिका संस्कृत विद्यापीठको परिसरमा वृक्षरोपण कार्यक्रम समेत गरिने विजय विकास स्रोत केन्द्रका कार्यकारी निर्देशक केशवप्रसाद सापकोटाले बताउनुभयो । 


आज भन्दा ४५ वर्षअघि २०३६ सालमा सामाजिक विकास संस्थाका रुपमा स्थापित केन्द्रले सामाजिक हित र स्वतन्त्रताका पक्षमा वकालत गर्दै आएको छ । यसले प्रवद्र्धन गरेका संस्थाहरुले पाएको ख्याती, केन्द्रले गरेका काम र सिकाई समाजका लागि अनुकरणिय रहेका छन् ।


संस्थाले विभिन्न संस्थागत चरणहरु पार गर्दै सर्वाङ्गिण सामुदायिक विकासका लागि महत्वपूर्ण भूमिका खेल्दै आइरहेको छ । यो गैरनाफामूलक, गैर राजनैतिक, सदस्यतामा आधारित र स्वयंसेवी भावनाले अभिप्रेरित भएको नागरिक समाजको प्रतिनिधिमूलक संस्था हो । विजय विकास स्रोत केन्द्रले समतामूलक, समृद्ध र मर्यादित समाजको परिकल्पना गरेको छ ।