पठन कार्यले ज्ञान दिलाउने मात्र नभई मानिसको स्तर समेत निर्धारण गर्छ ः डा. रिजाल

पठन संस्कृति अभियानको ५ औँ शृङ्खला

२०८१ श्रावण २६ शनिबार १९:०४:०० मा प्रकाशित

गैँडाकोट । पाँच महिना अघि गैँडाकोटमा शुरु भएको पठन संस्कृति अभियानको ५ औँ शृङ्खलामा सदा झै शनिबार पनि पाठकीय धाराणा प्रस्तुत भए । कार्यक्रममा प्रमुख अतिथिका रुपमा उपस्थित पूर्व मन्त्री एवं राजनीतिज्ञ डा. मिनेन्द्र रिजालले किताब पढ्ने बानीले मानिसको क्षमता वृद्धि गर्ने बताउनुभयो । पठन कार्यले ज्ञान दिलाउने मात्र नभई मानिसको स्तर समेत निर्धारण गर्ने बताउनुभयो । 

फुर्सदको समयमा किताब पढ्ने गरेको उहाँको भनाई थियो । पछिल्लो दुई वर्षको अवधिमा मात्रै सत्तरी भन्दा बढी किताब पढेको उहाँको भनाई थियो । पाठक आफ्नो रुचि अनुसारका किताब पढ्न स्वतन्त्र रहेको बताउँदै उहाँले किताब कसरी छनोट गर्ने भन्ने बारेमा चर्चा गर्नुभएको थियो । पूर्व मन्त्री रिजालले सफल जीवनका लागि पनि अध्ययन जरुरी रहेको बताउनुभयो । 

गँैडाकोट नगर प्रज्ञा प्रतिष्ठानका कुलपति समेत रहनुभएका नगर प्रमुख मदनभक्त अधिकारीले ७५ वर्षिय यो उमेरमा पनि अबको कार्यक्रममा उहाँले पुस्तक अध्ययन गरेर प्रस्तुत हुने बताउनुभएको छ । 

नगर प्रमुख अधिकारीले पठन संस्कृति अभियानको सफलताको कामना गर्दै यो अभियानलाई नगरपालिकाको तर्फबाट आवश्यक सहयोग रहने बताउनुभयो । 

गँैडाकोट नगर प्रज्ञा प्रतिष्ठानका उपकुलपति गोविन्दराज विनोदीले पठन संस्कृति अभियानले समुदायमा पढ्ने बानीको विकास भएको बताउनुभयो । यो अभियानलाई स्थानीय, जिल्ला र प्रदेश हुँदै राष्ट्रिय रुपमा पुराउन सबैले आ–आफ्नो स्थानबाट सहयोग गर्नुपर्ने बताउँदै यसको ख्याती र सफलताका लागि सुभेच्छा प्रकट गर्नुभयो । 

सामुदायिक रेडियो विजय एफएम १०१.६ र विजय खबर पत्रिकाको सञ्चालक संस्था विजय सामुदायिक सूचना तथा सञ्चार सहकारी संस्था लिमिटेडद्वारा पाँच महिना अघि शुरु भएको पठन संस्कृति अभियानको आगामी शृङ्खलामा वीपी कोइरालाका कृतिहरु बारेमा चर्चा गरिने आयोजक संस्थाका अध्यक्ष एवं अभियानका संयोजक त्रिलोचन सापकोटाले बताउनुभयो ।

कार्यक्रमले समुदायमा पठन संस्कृतिको विकास गराउन मद्दत गरेको बताउँदै यस अभियानले सकरात्मक सोच र चिन्तनको विकास गराउन मद्दत पु¥याउने सापकोटाको विश्वास रहेको छ । 

पठन संस्कृति अभियानको ५ औँ शृङ्खलामा शनिबार ८ जना सहभागीले विभिन्न किताब पढेर टिप्पणी राख्नुभएको थियो । उदय अधिकारी, प्राञ्जल पौडेल, बेलु दराइ, इन्द्रराज पौडेल, विप्लव कुँवर, सन्देश घिमिरे, सरस्वती तिमिल्सिना र कृष्णदास घिमिरेले आफूले हालसालै पढेका पुस्तक बारेमा टिप्पणी राख्नुभयो ।  

विजय विकास स्रोत केन्द्रको चेतना सदनमा शनिबार भएको कार्यक्रममा उदय अधिकारीले ‘संवादमा समयबिम्ब’ पुस्तक बारेमा टिप्पणी राख्नुभयो । त्यसैगरी गैँडाकोट इङ्गलिस स्कुलमा कक्षा १० मा पढ्ने प्राञ्जल पौडेलले शर्मिला खड्का कुँवरको बालउपन्यास ‘मित्रताको महत्त्व’ पुस्तक माथि टिप्पणी राख्नुभयो । त्यसैगरी बेलु दराइले जगत नेपालको पुस्तक ‘पहिलो संसद वीपी महेन्द्र टकराव’ बारे टिप्पणी राख्नुभयो ।

त्रिवेणी साहित्य परिषद्का अध्यक्ष इन्द्रराज पौडेलले भीष्म उप्रेतीको नियात्रासङ्ग्रह ‘हिमाल, शेर्पा र यति’को टिप्पणी राख्नुभयो । त्यसैगरी विप्लव कुँवरले ‘ठुलो मान्छे’ पुस्तकको बारेमा पाठक प्रतिक्रिया राख्नुभयो । कपिलदेव लामिछानेको यो पुस्तकले मान्छे ठुलो बन्ने कि असल बन्ने भन्ने बारेमा प्रेरणादायी शिक्षा दिएको कुँवरले बताउनुभयो । त्यसैगरी सन्देश घिमिरेले रवीन्द्र समीरको उपन्यास ‘पैसाको उडान’को बारेमा टिप्पणी राख्नुभयो । राजनीतिमा लागेर भ्रष्टाचार गरेकाहरुको कथा यो उपन्यासमा समेटिएको घिमिरेले बताउनुभयो । 

त्यसैगरी सरस्वती तिमिल्सिनाले पत्रकार यज्ञशको पुस्तक ‘भुइँया’ पुस्तकको बारेमा टिप्पणी राख्नुभयो । विशेषगरी भूमिहीन समुदायको कथा, व्यथा यो किताबमा रहेको तिमिल्सिनाले बताउनुभयो । त्यसैगरी यो शृङ्खलाका अन्तिम सहभागी कृष्णदास घिमिरेले नयनराज पाण्डेको ‘उलार’ उपन्यासको चर्चा गर्नुभयो । 

हरेक महिनाको अन्तिम शनिबार पठन संस्कृति अभियान अन्तर्गत कार्यक्रम हुने गरेको छ । यो अभियान कावासोतीमा समेत सञ्चालन गरिएको छ ।