गैँडाकोटमा मध्यरातको डकैती : खुकुरी घाँटीमा राख्दै ५ तोला सुन लुटपाट

गैँडाकोट । नवलपरासी पूर्वको गैँडाकोट नगरपालिका वाड नं. १ स्थित विकासचोकमा गएराति एक घरमा सशस्त्र लुटपाट भएको छ । घरेलु हतियार खुकुरीसहित आएका तीन जनाको समूहले राति करिब २ बजेतिर सरिता पौडेलको घरमा पसी ५ तोला सुन लुटेर फरार भएका छन् ।
पीडित सरिता पौडेलका अनुसार लुटेराहरुले मुखमा कपडा बाँधेर खुकुरी घाँटीमा राख्दै सुनका गहना मागेका थिए । “गहना नदिए छोरा–छोरीलाई समेत केही गरिदिन्छौं भन्ने धम्की दिएका थिए,” पौडेलले बताउनुभयो । डाकाहरु घरभित्र झन्डै १५ मिनेटसम्म बसेका थिए । लुटेराले सिक्री, औँठी, बाला, झुम्का, माइली तिलहरी लगायत करिब पाँच तोला सुन बराबरका गरगहना लिएर भागेको पौडेलले जानकारी दिनुभयो ।
घटनापछि इलाका प्रहरी कार्यालय गैँडाकोटको टोली घटनास्थलमा पुगेको छ । प्रहरी निरीक्षक कमला नरालका अनुसार घटनाको गम्भीरतापूर्वक अध्ययन सुरु गरिएको छ । उहाँले भन्नुभयो “सम्भावित व्यक्तिहरुको खोजी र अनुसन्धान प्रारम्भ गरिएको छ,”
स्थानियवासीहरु घटनाबाट त्रसित भएका छन् र रातको समयमा सुरक्षा व्यवस्था थप कडा बनाउन माग गरिएको स्थानीय डा. मतिप्रसाद ढकालले विजय एफएमलाई जानकारी दिनुभयो । पछिल्लो समय गैँडाकोट क्षेत्रमा यस्ता घटनामा वृद्धि हुन थालेको भन्दै प्रहरीले थप सतर्कता अपनाउने जनाएको छ ।