स्वास्थ्यमन्त्री प्रदीप पौडेल आइतबार नवलपुर आउँदै

गैँडाकोट । नेपाल सरकारका स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेल आइतबार (श्रावण ४ गते) नवलपुर आउनुहुने भएको छ। मन्त्री पौडेलले गैँडाकोट र हुप्सेकोटका विभिन्न तीन कार्यक्रममा सहभागिता जनाउने कार्यक्रम तय भएको छ।
उहाँले विभिन्न सार्वजनिक तथा पार्टीगत कार्यक्रमहरूमा सहभागी भई उद्घाटन तथा अवलोकन गर्ने कार्यक्रम तय भएको छ। मन्त्री पौडेलले विहान साढे ८ बजे गैँडाकोटस्थित विजय विकास स्रोत केन्द्रको आयोजनामा हुने मधुमेह स्वास्थ्य शिवीरमा सहभागिता जनाउनुहुने विजय विकास स्रोत केन्द्र कार्यकारी निर्देशक दिपनारायण सापकोटाले जानकारी दिनुभयो ।
त्यसपछि मन्त्री पौडेल हुप्सेकोट गाउँपालिका-४मा निर्माण सम्पन्न अस्पताल भवनको उद्घाटन गर्नुहुनेछ । मन्त्री पौडेलले नेपाली कांग्रेस जिल्ला कार्यालय, कावासोतीमा आयोजना हुने कार्यक्रमा सहभागी हुने छन्।
मन्त्री पौडेलको भ्रमणले स्वास्थ्य पूर्वाधार, शैक्षिक संस्था र राजनीतिक क्रियाकलापलाई सशक्त बनाउने अपेक्षा गरिएको छ। मन्त्री पौडेलको आगमनसँगै सम्बन्धित क्षेत्रका नागरिकहरूमा उत्साह देखिएको छ।