चितवन राष्ट्रिय निकुञ्जमा एक वर्षमा ८३ वन्यजन्तुको मृत्यु

२०८२ श्रावण ८ बिहीबार १५:२१:०० मा प्रकाशित

चितवन राष्ट्रिय निकुञ्जमा गत आर्थिक वर्षमा ८३ वटा वन्यजन्तु मरेका छन् । जसमध्ये ४५ वटा प्राकृतिक कारणले मरेका हुन् । निकुञ्जका सूचना अधिकारी अविनाश थापामगरका अनुसार गत आवमा २८ वटा गैँडा मरेका छन् । जसमध्ये १८ वटा प्राकृतिक कारणले, जुधेर ३, विद्युतीय करेन्टबाट १ , बाढी पहिरोबाट २ र दलदलमा फसेर ३ वटा मरेका छन् । एउटाको कारण खुलेको छैन ।

प्राकृतिक कारणले चितुवा एउटा, हात्ती पाँच वटा मरेका छन् । दुई हात्तीको मृत्युको कारण खुलेको छैन । एउटा बाघ जुधेर मरेको छभने अर्कोको कारण खुलेको छैन । चित्तल १२ वटा प्राकृतिक कारणले मरेका हुन् भने सडक दुर्घटनामा दुई चितल मरेका छन् । तारजालीमा परेर एउटा र कुकुरले टोकेर १६ चित्तल मरेका हुन् । जरायो तीन, रतुवा एउटा, घडीयाल गोही दुई, नीलगाई दुई, अजिङ्गर एक, स्याल एक, भालु एक र अन्य जनावर दुई वटा मरेका निकुञ्जले जनाएको छ ।

सोही समयमा १३५ वटा जनावरको उद्धार गरिएको छ । जसमा चार गैँडा, दुई बाघ, सात चित्तल, तीन कछुवा, ३७ सर्प रहेका छन् । त्यसैगरी अजिङ्गर ६१, मगर गोही ११, घडीयाल गोही दुई, गिद्ध दुई, गोहोरो एउट, नील बिरालो एउटा र अन्य दुई जनावरको उद्धार गरिएको छ । रासस