नवलपुर–२ काँग्रेस उम्मेदवार घर्तीको मतदानसम्म संयमको अपिल

२०८२ फाल्गुण १८ सोमबार २१:१५:०० मा प्रकाशित

नवलपुर- नवलपुर जिल्ला क्षेत्र नम्बर २ का प्रतिनिधि सभा सदस्यका लागि नेपाली काँग्रेस का उम्मेदवार ओम बहादुर घर्ती मगरले  मतदाताप्रति आभार व्यक्त गर्दै संयमित र जिम्मेवार भूमिकाको अपिल गरेका छन्।

उनले मनोनयन दर्ताको दिनदेखि अहोरात्र खटिएर पार्टीको पक्षमा मत माग्ने सम्पूर्ण नेता–कार्यकर्ता तथा शुभेच्छुकप्रति हार्दिक धन्यवाद व्यक्त गरेका छन्। घरदैलो, आमसभा, र्‍याली लगायतका कार्यक्रममार्फत मतदातासमक्ष पुग्ने प्रयास गरिएको उल्लेख गर्दै कतिपय स्थानमा प्रत्यक्ष घरदैलोमा पुग्न सकेको र कतिपय स्थानमा सामूहिक भेटघाटमार्फत आफ्ना प्रतिबद्धता राख्ने अवसर पाएको बताएका छन्।

सामाजिक सञ्जालमा सार्वजनिक सन्देशमा घर्तीले मतदाताबाट प्राप्त माया, सद्भाव र पार्टीप्रतिको विश्वासप्रति कृतज्ञता व्यक्त गर्दै यसले आफूलाई थप जिम्मेवार बनाएको उल्लेख गरेका छन्।मध्यरातपछि सुरु हुने मौन अवधिलाई ध्यानमा राख्दै उनले मतदान सम्पन्न नहुँदासम्म संयमता अपनाउन कार्यकर्तालाई आग्रह गरेका छन्। साथै, कुनै हल्ला, दबाब वा प्रभावमा नपरी विवेकपूर्ण ढंगले मतदान गर्न आम मतदातासमक्ष विशेष अनुरोध गरेका छन्।

घर्तीले २१ गतेसम्म मतदान प्रक्रियामा सक्रिय रूपमा खटिन कार्यकर्तालाई आग्रह गर्दै त्यसपछि आगामी पाँच वर्ष जनताका मुद्दा बोकेर निरन्तर काम गर्ने प्रतिबद्धता समेत व्यक्त गरेका छन्।उनले चुनावी प्रचारप्रसारमा समर्पित भएर खटिने सम्पूर्णप्रति पुनः आभार व्यक्त गर्दै सन्देशको अन्त्य गरेका छन्।