व्यवसायीलाई फलिफाप, किसानलाई अभिताप 

२०७९ मङ्सिर २० मंगलबार १०:४९:०० मा प्रकाशित

गैँडाकोट । काठमाडौं र पोखरा पछि, सौराहा देशकै तेस्रो प्रमुख गन्तव्यका रुपमा विकसित हुँदै गएको छ । प्रकृतिसँग नजिक हुन चाहने जो कोहिलाई सौराहाले तान्छ । सौराहा आउनुको मुख्य उद्देश्य भनेको निकुञ्ज भ्रमण गर्नु हो । त्यस माथि गैंडा हेर्ने धोको सबैको हुन्छ । निकुञ्जमा पाइने यही गैँडा व्यवसायीका लागि आम्दानीको राम्रो माध्यम बनेको छ । तर निकुञ्ज नजिकै रहेका किसानका लागि भने चिन्ताको बिषय बनेको छ । 

चितवन राष्ट्रिय निकुञ्ज भित्र रहेको गैँडा हेर्न देशको विभिन्न स्थान सहित बिदेशबाट समेत सौराहामा पर्यटक आउने गरेका छन् । मानिस हिड्ने सडकमै गैँडा हिडेको हेर्दै खाजा खान पाउँदा पर्यटक दंग पर्छन् । यसले सौराहामा पर्यटक मात्र बढेको छैन् होटल व्यवसायीको आम्दानी पनि बढेको छ । होटल व्यवसायी विशाल कुमाल विदेशी जंगलमा हिड्ने गैँडा बाटोमा देख्दा खुसी हुने गरेको बताउँछन् । यसले आफुहरुको आम्दानीको स्रोत राम्रो भएको उनको भनाई छ । 

यहाँ आउने पर्यटक सडकमा हिड्दै गरेको गैँडा देख्न पाउदा खुसी हँुदै फर्कन्छन् । व्यवसायी यही गैंडालाई देखाएर पैसा कमाउँछन् । तर सौराहा नजिकै रहेका खेतमा अन्न उब्जाउने किसानका लागि भने यो गैंडा अभिताप बन्ने गरेको छ । २ वर्षदेखी स्थानीय सिमा दाहालको ४ कठ्ठा बारी बाँझै छ । खेती लगाए गैँडा लगाएत जंगली जनावरले सबै नष्ट गर्न थालेपछि उनले खेती गर्न छाडिन् । बाझो बारी हेर्दा दाहालको मन सधै भकानिन्छ । 

स्थानीय प्रविना आर्याचको गुनासो पनि उस्तै छ । खानका लागि करेसाबारीमा लगाएको तरकारी पनि निकुञ्जमा रहेका गैँडाले नष्ट गर्ने गरेको छ । आफुहरुको क्षमता अनुसारको तारजाली गर्दा समेत अन्न बालि बचाउन नसकेको उनको दुखेसो छ । 

चितवन राष्ट्रिय निकुञ्जमा हाल ६ सय ९४ वटा गैँडा, १ सय २८ वटा बाघ र ४५ वटा हात्ती, जरायो, बँदेल, चितुवा, बाँदर, मयुर लगाएतका जनावर रहेका छन् । यिनै जनावर बस्तीमा आउँछन् र किसानलाई दुःख दिन्छन् । निकुञ्जले जनावर बाहिर आउन नदिने गरी तारजाली गर्नुपर्ने माग किसानहरुको छ । स्थानीय शंखर आचार्यले मेसजाली लगाएमात्र पनि कम हुने बताए ।  

पछिल्लो दुई महिनाको अवधिमा मात्र एकसय जना किसान जंगली जनावरले बालिनाली नष्ट गरेको निवेदन लिएर चितवन राष्ट्रिय निकुञ्ज पुगेका छन् । तर किसानलाई राहातसँगसँगै जनावर बस्तीमा जान नदिनका लागि निकुञ्जले विभिन्न काम गरिरहेको राष्ट्रिय प्रकृति संरक्षण कोष जैविक विविधता संरक्षण केन्द्र सौराहाका कार्यालय प्रमुख बाबुराम लामिछानेले बताए । 

निकुञ्जमा जनावरको संख्या बढ्नु प्रकृति र प्रर्यटकीय हिसाबले राम्रो मानिन्छ । तर यिनै जनावरका कारण बालिनालीमा पुग्ने गरेको क्षतीबाट भने यहाँका किसान मुक्त हुन चाहन्छन् । यसमा निकुञ्जले संरक्षणको कामलाई प्रभावकारी बनाउनुपर्ने उनीहरुको भनाई छ ।