गैँडाकोट १६ को अर्को कदम : शिक्षामा लगानी 

२०७९ मङ्सिर २० मंगलबार १६:०७:०० मा प्रकाशित

गैँडाकोट । एकपछि अर्को गर्दै गैँडाकोट नगरपालिका वडा नम्बर १६ ले समृद्ध वडाको लागि विभिन्न कार्यक्रम अघि सारेको छ । गत मंगलबार मात्रै वडाका अपाङ्गता भएकाहरुका लागि लत्ताकपडा र खाद्यान्न सहयोग गरेको वडाले यो मंगलबार शिक्षामा लगानी गरेको छ ।

वडा नम्बर १६ मा विद्यालय छैन । यहाँबाट विभिन्न विद्यालयमा अध्ययनरत वडाका विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको हो । वडाका विपन्न परिवारका १०८ जना विद्यार्थीलाई कक्षा अनुपातमा छात्रवृत्ति प्रदान गरिएको छ ।

उनीहरुका लागि ८ लाख रुपैयाँ विनियोजन गरिएको गैँडाकोट १६ का वडाध्यक्ष विनोदकुमार मल्लले जानकारी दिनुभयो । शिक्षाबाट कोहि पनि बञ्चित हुन नपरोस् भनि अति विपन्न परिवारका बालबालिकाका लक्षित गरी निःशुल्क शिक्षाका लागि रकम उपलब्ध गराईएको उहाँले बताउनुभयो । 

मंगलबार एक समारोहका बीच अमरज्योती माध्यमिक विद्यालय गैँडाकोट १७ मा अध्ययनरत वडाका विपन्न परिवारका ४१ जनालाई छात्रवृत्ति गरिएको छ । त्यस्तै बालउदय आधारभूत विद्यालयमा वडा नम्बर १५ मा अध्ययनरत १४ जना, लक्ष्मी माध्यमिक विद्यालय वडा नम्बर १५ मा अध्ययनरत २० जना र सोही विद्यालयमा ११ र १२ मा अध्ययनरत वडाका ३३ जना विद्यार्थी गरी १०८ जनालाई छात्रवृत्ति प्रदान गरेको हो । अमरज्योतीलाई ४ लाख २६ हजार, बालउदयलाई ९० हजार र लक्ष्मी माविलाई २ लाख ८४ हजार गरी ८ लाख रुपैयाँ प्रदान गरिएको हो ।

सो रकम विद्यालयलाई हस्तान्तरण गरिएको छ । तोकिएका विद्यार्थीबाट विद्यालयमा लाग्ने अतिरिक्त शुल्क नलिने विद्यालयले जनाएका छन् ।

अमरज्योती माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गोवद्र्धन ज्ञवालीले शैक्षिक अवस्था सुधारमा वडाको सहयोगले ठूलो टेवा पुग्ने बताउनुभयो । अमरज्योती माध्यमिक विद्यालयका प्रधानाध्यापक दुर्गादत्त सापकोटाले राज्यले निःशुल्क शिक्षा भनेपनि त्यस्को व्यवस्थापनमा कठिनाई भइरहेको अवस्थामा वडाले प्रदान गरेको रकमले सघाउ पुग्ने बताउँदै धन्यवाद ज्ञापन गर्नुभयो । 

शिक्षक प्रतिनिधि रोशन मल्लले सहजिकरण गर्नुभएको सो कार्यक्रममा शिक्षक अभिभावक संघका अध्यक्ष नारायण देवकोटा, वडा सदस्यहरु दिनेश देवकोटा, देवी अधिकारी, सरिता दर्जी लगायतको उपस्थिती रहेको थियो ।