सिँचाइको अभावमा खेतीबारी बाझै

२०७९ माघ ३ मंगलबार ११:२०:०० मा प्रकाशित

गैँडाकोट । गैँडाकोट नगरपालिका वडा नम्बर ३ बैसठ्ठी वर्गकिलोमिटर क्षेत्रफलमा फैलिएको छ । यस वडाको धेरै भू–भाग कृषियोग्य भूमिका रुपमा रहेको छ । यस क्षेत्रमा कृषियोग्य उर्बर भूमि भएपनि यहाँका किसानले सिँचाइको अभावमा खेतीबाली लगाउन भने पाएका छैनन् । वर्षायाममा खेतीबालीका लागि आकाशको पानीको भर पर्दछन् भने हिउँँदमा खेतबारी बाँझै राख्ने गरेका छन् । 

गैँडाकोट ३ केलादीका हरिबहादुर मिश्रलाई खेतीबाली गर्ने रहर छ । स्वदेशमा केही गर्ने आशाको पोको बोकेर स्वदेश फर्र्किएका मिश्रले विदेशमा १५ वर्ष विताएका थिए । नेपाल फर्केपछि मिश्रले कृषिमा राम्रो सम्भावना देखे । उनले टमाटर खेती सुरु गरे । तर खेती राम्रो हुन सकेन । सिँचाईको अभावमा कुनै पनि बाली राम्रो नहुँदा मिश्रलाई जस्तै सबै स्थानीयलाई समस्या परेको छ । उनले भने, “सिचाइ छैन, अफ्ठ्यारो छ । सिँचाई भएको भए यो बाझै हुने थिएन नि ∕ के गर्नु विदेशबाट केहि गर्न यहाँ आए यहाँ त निराशा मात्रै छ ।”

हरिबहादुर मिश्रको जस्तै हर्दीकी सम्झना न्यौपानेको पनि उस्तै समस्या छ । न्यौपानेको परिवारले १० रोपनी जग्गामा कृषि कर्म गर्दछन् । खेती गर्ने माटो मलिलो छ, तर सिँचाइको समस्या छ । वर्षायाममा उनिहरुको आँखा आकाशतीर नै ज्यादा हुने गर्दछ । आकाशमा देखिएको बादलसँगै उनिहरुको मनमा खुसी छाउँछ । तर हिउँदमा भने पुरै खेतीबारी बाँझै राख्ने गरेका छन् । अन्न किनेर खानुपर्ने बाध्यता उनिहरुको छ । सम्झना न्यौपानेले भनिन, “खेत छ के गर्नु मकै र कोदो बाहेकको केहि खेती हुँदैन । खेत भएर पनि बाझै राख्न परेको छ । १० रोपनी छ नि के गर्नु खेती गर्न नै नपाए पछि ∕” 

यही गाउँमा शेरबहादुर भुजेलको पनि सानो घर छ । त्यही घरमा ६ जनाको परिवार बस्छन् । भुजेलको परिवारको जीविकाको एक मात्र माध्यम भनेकै कृषि हो । बर्खामा हुने अन्नले हिउँद टार्नुपर्ने उनिहरुको बाध्यता छ । सिँचाईको व्यवस्था भए जीविका सहज हुन्थ्यो की ∕ भन्ने उनिहरुको अपेक्षा छ । आफ्नो र सन्तानको पेट पाल्नै पर्यो । उनले भने, “कुलो छैन, कुलो नभएपछि कहाँ खेती गर्नु, किनेर खाने बाध्यता छ नी ∕”

केलादीमा बिमाकुमारी भुजेलको पनि खेतीबारी छ तर उनी अहिले घरभित्रकै घासँदाउरा गर्दै समय बिताउँछिन् । सिंचाइ भए तरकारी खेती गरेर कमाउन हुन्थ्यो भन्ने लाग्छ । उनले भनिन्, “सिँचाइ नभए त केही लगाउन पाइएको छैन, बाझै छ ।” 

नवलपुर गैँडाकोटकोे हर्दी र केलादीमा सिँचाइ व्यवस्थाका लागि काम भइरहेको गैँडाकोट ३ का वडा अध्यक्ष शिवकान्त तिवारीले बताए । उनले बर्षायाममा मटर डुब्ने भएकाले निकाल्ने र फेरि राख्न गाह्रो भएकाले अहिले सिँचाइको व्यवस्था छैन । अहिले हर्दी र केलादीमा सिँचाइको ८० प्रतिशत काम भएको जानकारी दिए । उनले बजेटको व्यवस्था गर्दै अब छिट्टै समस्या समाधान गरिने उनको भनाई छ । वडाध्यक्ष तिवारीले भने, “हर्दीमा १५ लाखको लागतमा काम भइरहेको छ । केलादीमा पनि ७० प्रतिशत बढी काम भइरहेको छ । हामीले सिँचाइको समस्या समाधान गर्ने गरी काम गरिरहेका छौँ ।”

गैँडाकोट नगरपालिकाका नगरप्रमुख मदनभक्त अधिकारीले नगरको सिँचाइको समस्या समाधानका लागि लिफ्टिङ, सतही र बोरिङका माध्यमबाट सिँचाइको व्यवस्था गर्न स्रोतको पहिचान गर्ने बताए । उनले भने, “नगरपालिकाले कृषि क्षेत्रको विकासलाई प्राथमिकता राखेर काम गरेको छ । त्यसमा सिँचाई आवश्यक छ हामीले बजेटका स्रोत खोज्दै कामलाई अगाडी बढाउँछौँ । 

कृषकलाइ सिँचाई सुविधा भए उत्पादन गरेर स्वरोजगार बन्ने वातावरण बन्ने हुँदा त्यतातर्फ स्थानीय, प्रदेश र केन्द्र सरकारले ध्यान दिन आवश्यक छ । जमिन बाँझो नराख्ने नीति ल्याउदैँ गर्दा कृषकलाई मल, जल र बीउको सहज उपलब्धता हुनुपर्ने कृषकहरु बताउँछन् ।