तामाङ समुदायले आज सोनाम ल्होछार मनाउँदै 

२०७९ माघ ८ आइतबार ०७:१४:०० मा प्रकाशित

गैँडाकोट । तामाङ समुदायले आज राष्ट्रिय सांस्कृतिक पर्व सोनाम ल्होछार २८५९ मनाउँदै छन् ।

सोनाम ल्होसारलाई तामाङ समुदायको नयाँ वर्षको रूपमा प्रत्येक वर्ष माघ शुक्ल प्रतिपदाको दिन मनाइन्छ । यस पर्वमा तामाङ समुदायले कुल पूजा, प्रकृति पूजा र बुद्धका सन्देशको स्मरण गर्नुका साथै आफन्तजन भेला भई मनोरञ्जन गर्दै आपसमा खुसी आदानप्रदान गर्ने गर्दछन् । मुलुकका विभिन्न स्थानमा बसोबास गर्ने तामाङसहित ह्योल्मो, थकाली, जिरेल, नेस्याङ्वा, भोटे, दुरा, लेप्चाआदि जातिहरूले आआफ्नै शैली र परम्पराअनुसार यो पर्व मनाउँदै आएको पाइन्छ ।

यसैबीच राष्ट्रपति विद्यादेवी भण्डारीले बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक विविधतायुक्त नेपाली समाजमा सोनाम ल्होसार जस्ता पर्वबाट सबै नेपालीबीच आपसी सद्भाव, सहिष्णुता र बन्धुत्वको भावना अभिवृद्धि हुने बताउनुभएको छ । सोनाम ल्होसारको अवसरका एक शुभकामना सन्देश दिनुहुँदै उहाँले सोनाम ल्होसार पर्वले सबै नेपाली बीचको एकतालाई अझ सुदृढ गर्दै आर्थिक र सामाजिक रूपले समृद्ध मुलुक निर्माण गर्नका लागि अघि बढ्न सबैलाई ऊर्जा प्रदान गरोस् भन्ने कामना गर्नुभएको छ ।

ह्योअी विरालो वर्षको रुपमा मनाउने यस पर्वको अवसरमा सो समुदायले आज काठमाडौंको टुँडीखेलमा महोत्सव मनाउँदै छ । महोत्सवको उदघाटन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गर्ने कार्यक्रम रहेको आयोजक नेपाल तामाङ घेदुङले जनाएको छ ।

यस्तै सोनाम ल्होसारको अवसरमा शुभकामना सन्देश दिनुहुँदै नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले पर्वहरुले नेपाली समाजमा सामाजिक सद्भावना बढाउँदै आएको उल्लेख गर्नुभएको छ ।

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सोनाम ल्होछार (तवार ल्हो) पर्वले समुदायको रिति, परम्परा र संस्कृतिको संरक्षण र सम्वद्र्धन गर्दै अघि बढ्न प्ररेणा प्रदान गर्ने बताउनुभएको छ ।