पानीमा सहमतीको लगानी 

२०८० जेठ १० बुधबार १७:४७:०० मा प्रकाशित

गैँडाकोट । पानीमा सहमति संस्थाले गरेको लगानीले नागरिकको जीवनस्तर बदलिएको छ भने मानव र वन्यजन्तुलाई सहजरुपमा पिउने पानीको उपलब्धता मिलेको छ । नवलपुरका ७९ घरमा खानेपानीको धारा जडान गर्नुका साथै चितवन र नवलपुरका गरी १२ वटा सामुदायिक वनमा सिमसार क्षेत्र निर्माणमा सहयोग गरेको छ । 

डब्लु डब्लु एफको सहयोगमा सहमतिको ‘सिमसार क्षेत्र पुर्नस्थापना र नारायणी तटिय सामुहिक प्रयास तथा कार्ययोजना’ परियोजना मार्फत गैँडाकोटको केलादीमा ४८ घर, देवचुलीको किर्तिपुरमा १८ घर र हुप्सेकोट ४ मा १३ घर गरी ७९ घरधुरीमा खानेपानीको धारा जडान गरिएको सहमतिका अध्यक्ष होमनाथ सुवेदीले जानकारी दिनुभयो । खेर गइरहेको पानीबाट सिंचाइ समेत गरी कृषि व्यवसायमा सुधार हुनुका साथै पानीको जोहो गर्ने महिलाको कार्यव्यस्ततामा कमि आएको उहाँले बताउनुभयो । 

परियोजनाका संयोजक दिनेश वस्ताकोटीले चितवन र नवलपुरका गरी १२ वटा सामुदायिक वनमा वन्यजन्तुमैत्री ताल निर्माण तथा पुर्ननिर्माण गरी ६ हेक्टर जग्गामा पानी पूर्नभरण गरिएको बताउनुभयो । ६०० घरधुरीलाई जल भण्डार र १०० हेक्टर क्षेत्रफलमा सिँचाइको व्यवस्था गरिएको उहाँले जानकारी दिनुभयो ।

परियोजना मार्फत गैँडाकोट, देवचुली, कावासोती र हुप्सेकोटमा ८ वटा कृषक समूह गठन गरी तालिम, कृषि औजार उपलब्धता, बीउ बिजन प्रदान गरी नर्सरी व्यवस्थापन तथा व्यावसायिक जैवीक खेती थालेका छन् । थोपा सिँचाइ प्रवर्धन, जैविक विषादी प्रवर्धन, कृषक समूह सञ्जाल गठन, पानीका समस्या र समाधानका लागि सरोकारवालाहरुसँग पानी बहस, पानीको समस्या र समाधानका लागि बेसिन सामूहिक कार्ययोजना तयार, नारायणी नदी सम्मेलन लगायतका क्रियाकलाप गरेको परियोजनाका संयोजक वस्ताकोटीले जानकारी दिनुभयो । 

यसका अलवा १० वटा स्थानीय निकायमा नदी, सिमसार, पानी र वातावरण सम्बन्धी चेतना अभिवृद्धि गरिएको छ । स्थानीयलाई नै सहभागिता गराई ५० पटक साप्ताहिक रुपमा नारायणी नदी सरसफाइ गरिएको छ । नदी, सिमसार, पानी र वातावरण सम्बन्धी रेडियोमार्फत सूचना सम्प्रेषण, वन्य जन्तुहरुको चोरी शिकारीमा नियन्त्रण तथा संरक्षणमा समुदायमा आधारित ५० जना युवाहरुको क्षमता अभिवृद्धि र ५० पटक सम्म नारायणी नदीको अनुगमन गरेको छ । 
परियोजना अन्तर्गत सञ्चालित आयोजनाको बुधबार संयुक्त रुपमा अनुगमन समेत गरिएको छ । सञ्चालित योजनाको प्रभावकारिता र दिगो सञ्चालनका लागि सरोकारवालाहरुको उपस्थितिमा अनुगमन गरिएको हो । संरक्षणको क्षेत्रमा सहमतिले गरेको लगानीले मानव तथा वन्यजन्तुलाई सहज पानीको उपलब्धता मिलेको अनुगमनका सहभागिहरुले बताएका छन् ।  

अनुगमनमा चितवन राष्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिका अध्यक्ष प्रकाश ढुङ्गाना, देवचुली नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मोहनप्रसाद मरासिनी, खानेपानी महासंघ नवलपुरका अध्यक्ष खिमानन्द भुसाल, डिभिजन वन कार्यालय नवलपुरका प्रमुख, डिभिजनल वन अधिकृत मेघराज पौडेल, सब डिभिजन वन कार्यालय गैँडाकोटका सहायक वन अधिकृत सूर्यसिंह गुरुङ, सामुदायिक वन स्थानीय महासंघ गैँडाकोटका अध्यक्ष निर्मला कँडेल, सहमतिका कार्यसमिति सदस्य एवं परियोजनाका सल्लाहकार दयासागर सुवेदी लगायतको उपस्थिति रहेको थियो । 

नारायणी नदीमा प्रदूषण कम गर्ने, नदी तटीय क्षेत्रमा आश्रित परिवारको जीविकोपार्जन सुधार, पानीसँग सम्बन्धित जोखिम कम गर्ने, सिमसार क्षेत्रको संरक्षण, नदीको अनुगमन, पानीको उचित प्रयोग, स्थानीय सरकारसँग समन्वयमा प्रदेश तथा संघीय सरकारलाई नीति निर्माणमा सहयोग गरेको सामुदायिक सहजकर्ता क्षितिज शर्माले जानकारी दिनुभयो ।