नम्रता श्रेष्ठको फिल्म ‘ह्यासट्याग माया’ को छायांकन सुरू

२०८० जेठ २१ आइतबार १२:५३:०० मा प्रकाशित

नम्रता श्रेष्ठको अभिनय रहने फिल्म ‘ह्यासट्याग माया’ को छायांकन सुरू भएको छ। 
लुम्बिनी प्रदेशको बर्दिया राष्ट्रिय निकुञ्जमा केही दृश्य खिच्दै फिल्मको छायांकन सुरू गरिएको हो। निर्माता अनुप पौडेलका अनुसार बर्दियामा चौध दिन छायांकन हुनेछ।
‘हाम्रो नेपालको सुन्दरतालाई पर्दामा ल्याउने कोशिस रहनेछ। यसका साथै बर्दियाको सेटअप पात्रलाई सुहाउँदो पनि छ। यहाँ दुई साता छायांकन गर्ने सेड्युल तय गरेका छौं,’ अनुपले भने। यसको छायांकन काठमाडौं २० दिन र धरानमा ५ दिन गरिनेछ। 
राजिव गुरुङले निर्देशन गरिरहेको फिल्ममा नम्रता श्रेष्ठ, सारूक ताम्राकार, रोय श्रेष्ठ, निकिता आचार्य, केनिपा सिंह, सुदाम सिकेलगायत कलाकारको अभिनय रहनेछ। यो राजिवको डेब्यू निर्देशकिय फिल्म हो। 
थ्रिलर विधामा निर्माण हुने फिल्ममा शर्मिला थापाको लगानी छ। फिल्ममा अभिनेत्री नम्रता शीर्ष भूमिकामा देखिनेछिन्। उनले एरियल योगा प्रशिक्षकको चरित्र निर्वाह गर्न प्रशिक्षणसमेत लिएकी थिइन्। 
रे भेन्चर्स प्राइभेट लिमिटेडको ब्यानरमा निर्माण भइरहेको फिल्ममा निर्देशक गुरुङ र आशुतोष श्रेष्ठको लेखन, उज्वल जोशीको छायांकन, रेलिजा श्रेष्ठको कला निर्देशन, कृति जोशीको शृंगार रहेको छ। यसमा कार्यकारी निर्मातामा अनुप पौडेल, कास्टिङ निर्देशकमा अर्जुन न्यौपाने, प्रोडक्सन म्यानेजरमा अरुण रेग्मी र दीलिप पन्त रहेका छन्।