हनुमान मन्दिर निर्माणपछि व्यवस्थापनको पाटो हेर्दैछौँ : टिकाराम सापकोटा

२०८० श्रावण ३० मंगलबार ११:२७:०० मा प्रकाशित


नवलपरासी (बर्दघाट सुस्तापूर्व) गैँडाकोट ९ थुम्सी स्थित शिखरखजुराव शैलीको भव्य एवं कलात्मक श्री हनुमान मन्दिरको निर्माणसँगै गैँडाकोटको महŒव र पहिचान बढाएको छ । श्री हनुमान मन्दिर चक्रघाट समितिले नेपालकै पहिलो, भव्य र कलात्मक मन्दिर रहेको दावी गर्दै आएको छ । यो पर्यटकीय गन्तव्यका रुपमा स्थापित हुँदै गएको छ । २०४२ सालमा सुरुवातमा सुकदेव फलारी बाबा आएर यहाँ सालको रुखमुनि बस्न थालेको बताइन्छ । सुकदेव फलारी बाबाले तपस्या गर्न आएको भनेपछि तत्कालिन समयका वडाध्यक्ष रत्नाखर सापकोटाको पहलमा सबै मिलेर कुटी निर्माण गरेको पाइन्छ । सबैको सहकार्यमा २०४८ सालमा सानो मन्दिर बनाएपछि २०५५ सालमा जिल्ला प्रशासन कार्यालयमा दर्ता भएपछि क्रमिक रुपमा मन्दिरको विकास र विस्तार भएको हो । यसैसन्दर्भमा हामीले श्री हनुमान मन्दिर चक्रघाट समितिका अध्यक्ष टिकाराम सापकोटासँग कुराकानी गरेका छौँ । प्रस्तुत छ, संवाद्दाता माया कँडेलले गरेको कुराकानीको सम्पदित अंश  :
 

शिखरखजुराव शैलिको मूल मन्दिर निर्माणपछि यसले पूर्णता पाएको हो ? 

यस स्थानमा सबैको सहयोगले शिखरखजुराव शैलीको भव्य एवं कलात्मक श्री हनुमान मन्दिरको निर्माण कार्य सकिएको छ । मुख्य मन्दिर निर्माण भए पनि अन्य कामहरु बाँकी छन् । मन्दिर व्यवस्थापन समितिको अध्यक्ष भएपछि मैले यहाँ धेरै कामहरु अगाडी बढाइरहेको छु । जुन अझै केही निर्माण कार्य चलिरहेका छन् । हामीले गुरु योजना बनाएर अगाडी बढेका छौँ । मूल हनुमान मन्दिर निर्माण भयो यसले आन्तरिक र बाह्य पर्यटकको संख्या बढ्दै गइरहेको छ । मन्दिरले पूर्णता पाएपनि अन्य कामहरु भने तिव्र गतिमा नै अगाडी बढाइरहेका छौँ । यसको महत्त्व आफ्नै ठाउँमा छ । यसलाई नमुना स्थानको रुपमा विकास गर्ने र सबैको आकर्षणको केन्द्रको रुपमा नै अगाडी बढाउने ध्येयका साथ अगाडी बढिरहेका छौँ ।  


गुरु योजना अनुसारका के काम बाँकी छ ?

सुरुवातमा पञ्चवर्षिय गुरु योजना बनाएका हौँ । त्यसपछि गुरु योजना अनुसार नै हामीले कामलाई अगाडी बढाइरहेका छौँ । यसमा मन्दिर निर्माण गर्ने, गेट र धर्मशाला निर्माण गरी सुव्यवस्थित पार्ने र बगैँचा निर्माण गर्ने योजना बनाएका थियौँ । त्यसमध्ये मुख्य मन्दिर निर्माण सकेका छौँ । अन्य केही कामहरु पनि सम्पन्न गरेका छौँ भने केही कामहरु जारी छन् । धर्मशाला गौडेल रेग्मी बन्धु समाजले निर्माण गरेर मन्दिरलाई हस्तान्तरण गर्ने अभियानका साथमा अहिले निर्माण हुँदैछ । भुइ तला उहाँहरुले निर्माण गरिदिनुभयो । पहिलो तला बनाउन हामीले दाता खोज्यौ । नगरपालिकामा कुरा राखेपछि यो कार्यलाई सम्बोधन गरेको छ । अहिले निर्माण कार्य भइरहेको छ । आन्तरिक र बाह्य पर्यटकको अपेक्षा अनुरुप नै धर्मशाला निर्माण गरेका हौँ । 

गैँडाकोट ९ मा रहेको हनुमान मन्दिर । तस्वीर पीताम्बर सापकोटा

अब बाँकी रहेका काम कसरी अगाडी बढाउनुहुन्छ ?

बगैँचा निर्माण गर्ने र प्रवेशद्वार निर्माणलाई पूर्णता दिने काम अझै बाँकी नै छ । व्यवस्थित पार्किङको व्यवस्था मिलाउने संकल्प लिएका छौँ । गण्डकी प्रदेश सरकारसँग पनि सहकार्य गर्ने आश्वासन पाएका छौँ । त्यस अन्तर्गत नै धार्मिक श्रद्धालु भक्तजनले हातेमालो गर्न तयार छौँ भन्नुभएको छ हामी त्यसरी नै अगाडी बढेका छौँ । हामीले मारवाडी सेवा समितिसँग पनि सहकार्य गरेका छौँ । हामीले धेरै सहयोग पनि पाएका छौँ । 


आर्थिक स्रोत कसरी जुटाउनुभएको छ ? 

गुरु योजना बनाएपछि शिखर खजुराव शैलिको मन्दिर निर्माणका लागि हामी भक्तजनको घर–घरमा पुग्यौ । हामीलाई उहाँहरुले सहयोग गर्नुभयो । वडा, नगर र गण्डकी प्रदेश सरकारले पनि हामीलाई आर्थिक सहयोग गरेको हो । आर्थिक स्रोत हामीले यसरी नै जुटाएका छौँ । गण्डकी प्रदेशले ३ पटक गरेर करिब २० लाख, नगरले पनि त्यत्तिकै सहयोग गरेको छ । बिशेषः भक्तजनको विश्वास र माया नै हो । अहिले भव्य र नमुना मन्दिरको रुपमा देख्न सकिन्छ । करिब २ करोड ९२ लाखमा शिखर खजुराव शैलिको हनुमान मन्दिर बनाएका हौँ । मासिक खर्च, प्रशासनिक खर्च चलाउन पनि भक्तजनको आगमन बढेसँगै केही सहज भएको छ । मन्दिर व्यवस्थापनका लागि पूर्व, निर्वतमान कार्यसमिति र अहिलेको कार्यसमिति भक्तजनको विश्वास र मायाले आर्थिक सहयोग जुटेको हो । हामीले सुरुवातमा योजना बनाउँदा हामीसँग बजेट थिएन । सायद भगवानको कृपा नै भनौँ सहयोगीको साथ पायौँ र गुरुयोजना अनुरुप कामलाई अगाडी बढाइरहेका छौँ । 


स्नानघाट र श्मशान घाट बनाउने कुरा के हुँदैछ ? 

स्नानघाट ०७६÷७७ र ०७७÷७८ को नगरपालिकाको बजेटबाट करिब २३ लाखमा एक चरणमा स्नानघाट बनेको हो । त्यसपछि ०७८÷०७९ मा १० लाख विनियोजित भएको थियो हामी स्तरोन्नती गर्दै थियौँ । गतवर्ष वर्षाको समयमा नदीले क्षति पु¥यायो । पछि नगरपालिकाकले सेरवाल निर्माण गर्न ८ लाख विनियोजन गरेको हो । अहिले सेरवाल पनि लगाएका छौँ । हामीले स्नानघाट बनाउँदै गर्दा गतवर्ष क्षति पु¥याएको छ । हामी सरोकारवालासँग कुरा पनि गरिरहेका छौ । स्नान घाट र श्मशान घाटलाई बनाउँदै जाने लक्ष्य पनि लिएका छौँ । 


तपाईंको नेतृत्वमा हनुमान मन्दिरका लागि के–के काम गर्नुभयो ? 

मेरो यो दोस्रो कार्यकाल हो । पहिलो कार्यकालमा हामीले पञ्चवर्षिय योजनाअन्र्तगत शुभ सङ्कल्प गरेको थियौँ । हामी सबै मिलेर सुन्दर हनुमान मन्दिर निर्माण ग¥यौ । यसलाई व्यवस्थापन गर्दा नै करिब पहिलो कार्यकाल सकियो । दोस्रो कार्यकालमा धर्मशालालाई पूर्णता दिन लागि परेका छौँ । प्रवेशद्वार निर्माण पनि अगाडी बढेको छ । साथै बगैँचा र पार्किङलाई अगाडी बढाइरहेको छ । यो कार्यकालमा हामी यसलाई पनि पूर्णता दिने प्रयासमा छौँ ।

अबको योजना के छ ? 

हनुमान भगवानलाई संकटमा पनि सम्झियो भने संकट निवारण हुन्छ भन्ने आस्था र विश्वासका साथ भक्तजनहरु यहाँ आउनुहुन्छ । देशभरबाट मात्र हैन भारतबाट पनि यहाँ भक्तजन आउने गर्नुभएको छ । हामीलाई खुसी लाग्छ । अबको योजना भनेकै व्यवस्थापनको पाटो हो । मन्दिर त निर्माण गरिसकेका छौँ । मन्दिर आउने पर्यटकका लागि विभिन्न सुबिधा उपलब्ध गराउन लागिपरेका छौँ । यहाँको पर्यापर्यटनको विकासका लागि पनि काम गर्ने सोच बनाएका छौँ । यहाँ नजिकै धार्मिक वन र सामुदायिक वन क्षेत्र छ । नारायणी नदी नजिकै छ । यसले महत्त्व बढाएको छ । यसको विकासलाई बढी ध्यान दिएर पर्यटक भित्राउने लक्ष्यका साथ हामीले काम गरिरहेका छौँ ।