मापदण्ड पुरा नगरे कारवाहीको दायरामा ल्याउछौँ : शान्ति कोइराला 

२०८० भदौ १९ मंगलबार १४:४१:०० मा प्रकाशित


शान्ति कोइराला 
गैँडाकोट नगर उपप्रमुख एवं अनुगमन समिति संयोजक 

जन स्वास्थ्यसँग जोडिएका गैँडाकोटका कतिपय मेडिकल, फार्मेसी, क्लिनिक एवं ल्याबहरु मापदण्ड पुरा नगरी सञ्चालन गरेको पाइएको छ । गैँडाकोट नगरपालिकाले नगर क्षेत्रमा सञ्चालन गरिएका स्वास्थ्य संस्थाहरुको आइतबार अनुगमन गरेको थियो । गैँडाकोट नगरपालिकामा नीजि क्षेत्रबाट सञ्चालित केही स्वास्थ्य संस्थाको अनुगमनपछि पाइएको अवस्थाबारे गैँडाकोट नगर उपप्रमुख एवं अनुगमन समिति संयोजक शान्ति कोइरालासँग छोटो कुराकानी गरेका छौँ । प्रस्तुत छ, समाचार सम्पादक प्रेम क्षेत्रीले गरेको कुराकानीको सम्पादित अंश :

अनुगमनमा स्वास्थ्य संस्थाको अवस्था कस्तो पाउनुभयो ?

गैँडाकोट नगरपालिका क्षेत्रभित्र सञ्चालनमा रहेका मेडिकल, फार्मेसी, क्लिनिक एवं ल्याबहरु राम्रोसँग नै चलेका छन् भने केहीमा अलिकति मापदण्ड पुरा नगरी सञ्चालन गरेको पनि पाइएको छ । यी संस्थाहरु जन स्वास्थ्यसँग जोडिएको विषय भएकाले सेवा प्रवाहमा पूर्णता हुनुपर्छ । 

कस्तो मापदण्ड नपुगेको देखियो ?

एउटा स्वास्थ्य संस्था दर्ता नगरी सञ्चालन गरेको समेत पाइएको छ । हामीले त्यस्लाई एक हप्ताभित्र दर्ता गर्न समय दिएका छौँ । केहीले फार्मेसी दर्ता गरी ल्याब सञ्चालन गरेको पाइएको छ । कुनै क्लिनिकमा मूल्य सूचि नभएको पनि पाइएको छ । सरसफाइ कमी भएको पनि महशुस गरेका छौँ । म्याद गुज्रिएका औषधी पनि अनुगमनका क्रममा फेला परेका छन् । औषधी पसलमा घरमा सरसफाइमा प्रयोग हुने हरपिक, फिनेल लगायतका जुन विषादीजन्य सामग्री हुने त्यस्ता सामग्री पनि राखेका पाइएको थियो । जुन मापदण्ड भित्र पर्दैनन् । 

त्यस्ता संस्थालाई गरिने कारवाही के छ ?

हामीले अहिले उनिहरुको प्रकृति हेरेर दर्ता नभएकालाई दर्ता गर्न, मूल्यसूची राख्न एकहप्ताको समय दिएका छौँ । ल्याबमा आवश्यक गर्नुपर्ने काम र मापदण्ड पुरा गर्न निर्देशन दिएका छौँ । सरसफाइमा नियमित ध्यान दिन भनेका छौँ । त्यो मापदण्ड पुरा नगर्नेलाई कारवाहीको दायरामा ल्याउँछौँ । 

गैँडाकोटमा अनुगमन कम भयो भन्ने गुनासो छ नी ?

अरुले अनुगमन गर्ने भन्दा पनि आफुले कुन उद्देश्यले कस्ता व्यवसाय सञ्चालन गरेको हो स्वयम् त्यस्ता संस्थाले खाद्यान्न, औषधी वा अन्य जुनसुकै व्यवसायी जिम्मेवार रुपमा प्रस्तुत भइ मापदण्ड पुरा गर्नुपर्छ । तै पनि केही व्यक्तिको नियत खराब हुन सक्छ त्यस्ता व्यक्ति कारवाहीको दायरामा आउँछन् । नगरपालिकाका अन्य जिम्मेवारी पनि छन् केही कमजोरी हाम्रो पनि होला तर कुनैपनि व्यवसायी गैर जिम्मेवार रुपमा प्रस्तुत हुन पाउदैनन् । व्यवसायीले जिम्मेवार बोध गरी उत्तरदायी बन्नुपर्छ ।