आन्तरिक पर्यटकको रोजाइमा वातावरण मैत्री बाल उद्यान

२०८० मङ्सिर २६ मंगलबार १२:१६:०० मा प्रकाशित


गैँडाकोट । गैँडाकोट ९ थुम्सिमा रहेको छ, वातावरण मैत्री बाल उद्यान । वरिपरि हरियाली वन । छेवैमा रहेको छ, गुम्बा । गर्मीमा छहारी अनी जाडोमा पारिलो ठाउँ भएका कारण पनि यो आन्तरिक पर्यटकको रोजाइमा परेको छ ।

नारायणी सामुदायिक वन क्षेत्र भित्र रहेको यस वातावरण मैत्री उद्यान, वनभोज स्थलको रुपमा त्यसमाथी पारिवारिक जमघट र घुमघामका लागि उपयुक्त स्थल बनेको छ । यहाँ वनभोज खानका लागि टाढा–टाढा बाट स्कूल तथा संघ–संस्थाका समूहहरू आउने गरेका छन् । 


आमा समूहबाट वनभोजका लागि यहाँ आएकी गैँडाकोटका चम्पादेवी शर्माले नजिकको रमाइलो स्थान लागेको बताइन् । बस्नका लागि खुल्ला र पारीलो ठाउँ भएका कारण पनि हरेक वर्ष यहिँ आउने गरेको उनले सुनाइन् । 


गैँडाकोटकी भगवती रानाले आफ्नै गाउँठाउँमा भएको पर्यटकीय स्थलको संरक्षण र प्रवर्धन गर्नुपर्छ भन्ने लागेर घुम्न र वनभोजका लागि वातावरण मैत्री बाल उद्यानमा आउने गरेको बताइन् । उनले सुविधा बढ्दै गएका कारण अझै पर्यटक तान्न सफल हुने विश्वास व्यक्त गरिन् ।  


पिक्निक खान आउनेहरूका लागि ८ वटा स्टल, ३ वटा शौचालय, खानेपानी र बिजुलीको सुविधा रहेको छ । बालबालिका, युवा र वृद्ध सबै खेल्न मिल्ने पि∙, चिप्लेटी अनी बन्दै गरेको भ्युटावरले पर्यटकलाई आकर्षित गर्ने गरेको छ । पारिवारीक जमघटका लागि वातावरण मैत्री उद्यानमा आएका गैँडाकोट २ का सूर्य घिमिरे यहाँ आउँदा छुट्टै आनन्द आउने बताउँछन् । त्यसैले छोटो यात्राका लागि हरेक वर्षको रोजाइमा यही स्थान पर्ने गरेको उनले सुनाए । 


वन विकास र संरक्षणमा महत्त्वपूर्ण भूमिका खेलेको नारायणी सामुदायिक वन पछिल्लो समय पर्यटन प्रवद्र्धनमा समेत अगाडी बढेको छ । आफ्नो क्षेत्राधिकार भित्र रहेको पर्यटकीय क्षेत्रको विकासमा वनले लगानी बढाएको छ ।

वन संरक्षण, प्राकृतिक सुन्दरता, वन व्यवस्थापनमा महत्त्वपूर्ण भूमिका खेल्दै आएको नारायणी सामुदायिक वनले पर्यटन प्रवद्र्धनमा समेत लगानी बढाएको छ । करिब ६ करोडको अनुमानित लागतमा डिपिआर तयार भएको वातावरण मैत्री उद्यानमा पानीको फोहोरा बनाउने, विभिन्न प्रजातिका फलफूलको विरुवा लगाउने लगायतको योजना वनको रहेको नारायणी सामुदायिक वनका अध्यक्ष दिननाथ त्रिपाठीले बताए ।  


आगामी दिनमा स्टल थप गर्ने, भाँडाकुँडा र टेन्टको समेत व्यवस्था गर्ने तयारी वनले गरेको वनका कार्यालय सचिव हरिप्रसाद सापकोटाले बताएका छन् । वातावरणमैत्री उद्यानमा प्लाष्टिक जन्य वस्तुको प्रयोगमा सामुदायिक वनले रोक लगाएको सापकोटाले बताए । 


नारायणी सामुदायिक वनमा यस वर्षमात्रै करिब ५० समूह वनभोजका लागि आएका छन् । अघिल्लो वर्ष सामुदायिक वनले वनभोज स्थलबाट १ लाख बढी आम्दानी  गरेको थियो भने यस वर्ष ४४ हजार आम्दानी गरेको छ ।

वनभोज स्थलमा १० जनाको समूहका लागि ५ सय, २० जनाको समूहका लागि ७ सय ५० रुपैयाँ, ५० जनासम्मको समूहका लागि १ हजार र ५० जना भन्दा बढीको समूहका लागि १५ सय प्रवेश शुल्क लाग्ने नारायणी वनका कार्यालय सचिव सापकोटाले बताए ।

वनभोजस्थलमा आउनेहरूले दाउरा ल्याउन झण्झट छैन । वनभोज स्थलमा नै दाउरा सामुदायिक वनले उपलब्ध गराउँछ । दाउराबापत प्रतिभारी ५ सय रुपैँया सामुदायिक वनले लिने गरेको छ ।