गैँडाकोट ८ मा अपाङ्गता भएका व्यक्तिहरूलाई सम्मान

२०८१ बैशाख १४ शुक्रबार १८:०७:०० मा प्रकाशित


नवलपुर। गैँडाकोट नगरपालिका वडा नम्बर ८ ले अपाङ्गता भएका व्यक्तिहरूलाई सम्मान गरेको छ ।

सुनौलो अपाङ्ग स्वावलम्बन समूहको आयोजना तथा गैँडाकोट नगरपालिका वडा नम्बर ८ को आर्थिक सहयोगमा भएको कार्यक्रममा अपाङ्गता भएका व्यक्तिसँग अन्तक्र्रिया समेत गरिएको थियो । कार्यक्रममा उपस्थित उनीहरुले वडा कार्यलयले समयसमयमा आफ्ना कुरा सुन्ने कार्यक्रम सञ्चालन गर्नुपर्ने, अपाङ्गता भएका व्यक्तिलाई पनि अन्य सरह व्यवहार गर्नुपर्ने र अटिजम भएका बालबालिकाका लागि विशेष सुविधा हुनुपर्ने लगायतको माग राखेका थिए । 
सुनौलो अपाङ्ग स्वावलम्बन समूहका अध्यक्ष लक्ष्मी अधिकारीले गैँडाकोट नगरपालिका भित्र अटिजम भएका बालबालिकाको सङ्ख्या बढ्दै गएका कारण उनीहरुको बिशेष स्याहार, शिक्षाका लागि राज्यले ध्यानदिनुपर्ने बताउनुभएको छ । 
गैँडाकोट नगरपालिका वडा नम्बर ८ का वडा अध्यक्ष प्रेम सापकोटाले अपाङ्गता भएका व्यक्तिमा फरक फरक क्षमता हुने भएको हुँदा उद्यमी बन्न प्रेरित गर्नुभएको छ । उहाँले यसका लागि वडाले सीपमूलक तालिम पनि सञ्चालन गर्ने बताउनुभयो ।
कार्यक्रममा ४८ जनालाई राहत प्रदान गरिएको थियो । चामल, दाल, चना, गुल्कोज, सेनेटरी प्याड, डाइपर लगायतका आवश्यक सामान राहत स्वरूप प्रदान गरिएको हो ।