नारायणगढ बुटवल सडक : गैँडाकोट खण्ड छिटो बनाउन नगरपालिका र परियोजनाबीच सहमति 

२०८० पौष ८ आइतबार १८:४१:०० मा प्रकाशित

गैँडाकोट । नारायणगढ बुटवल सडक खण्ड परियोजनाले  गैँडाकोट नगरपालिका क्षेत्रको सडक निर्माणलाई प्राथमिकता दिने जनाएको छ । गैँडाकोट नगरपालिकाका नगरप्रमुख मदनभक्त अधिकारी र सडक खण्डका प्रतिनिधिबीचको छलफल पश्चात् गैँडाकोटको सडक निर्माणलाई प्राथमिकता दिने सहमति भएको गँैडाकोट नगरपालिकाका नगरप्रमुख मदनभक्त अधिकारीले बताउनुभयो । सडक निर्माणका लागि आवश्यक सामग्रीका लागि पालिकाले पहिले नै सहयोग गरिसकेको छ, अब अल्झिनुपर्ने ठाउँ छैन, निर्माणको कामलाई तदारुकता दिने सहमति भएको नगरप्रमुख अधिकारीले बताउनुभयो । 


गैँडाकोट नगरपालिकाले सडक निर्माणका लागि राम्रो समन्वय र सहकार्य समेत गरिरहेको नारायणगढ बुटवल सडक खण्ड परियोजनाका इन्जिनियर राकेश झाले बताउनुभयो । गैँडाकोट ११ देखि १७ सम्मको खण्डलाई १ महिनाभित्र सक्ने गरि काम भइरहेको छ । बाँकी पूर्वी खण्डको कामलाई यथासक्य छिटो सक्ने गरि काम अघि बढेको आोजनाका प्रतिनिधिले बताएका छन् । बिजुलीको तार सार्ने र खानेपानीको पाइप व्यवस्थापन छिटो भएको खण्डमा सडक  निर्माण द्रुत गतिमा अघि बढ्नुको साथै गैँडाकोटको खण्ड छिटो सक्ने गरि काम सुरु गरेको इन्जिनियर झाले बताउनुभयो । 


नारायगढ बुटवल सडक खण्डको पूर्वी खण्डको ४३.८ प्रतिशत काम सम्पन्न भइसकेको छ । अबको १५÷१६ महिनामा सबै काम पूर्णता हुने सडक खण्डका इन्जिनियर राकेश झाले बताउनुभयो । 
नारायणगढ बुटवल सडक खण्ड आयोजनाले काम ढिलो गतिमा गर्दा १५ १६ महिनामा काम सकिने कुरामा जनताले सहजै विश्वास गर्न सकेका छैनन् । तर स्थानीय सरकारका जनप्रतिनिधिहरु भने छिटो काम होस् भनेर आफ्नो तर्फबाट सहयोग र सहजीकरण भने गर्दै आएका छन् ।