भजन संरक्षणका अभियन्तासँगको जम्काभेट

२०८० पौष २७ शुक्रबार १६:११:०० मा प्रकाशित


गत साता धार्मिक सेवा समिति मौलाकालिका मन्दिरमा एउटा कार्यक्रमको निम्तो पाएपछि एकाबिहानै कुहिरो छिचोल्दै मौलाकालिका केवलकार पुगेँ । त्यहाँ धार्मिक सेवा समिति मौलाकालिका मन्दिरका उपाध्यक्ष खगराज दाईसँग भेट भयो । उहाँ अरु कोही व्यक्ति आउँदै हुनुहुन्छ, भनेर प्रतिक्षा गरिरहनुभएको थियो । म पनि केवलकारको बेस स्टेशन भित्र टिकटक चल्ने मेसो पाएपछि, एप्लीकेशन डाउनलोड गरेँ । आफ्नो एकाउण्ट हेरेँ । फलोर्स न घटेको थियो न बढेको थियो । केही पुराना भिडियो हेर्दै समय बिताएँ । एकछिनपछि अग्लो गोरो मोटो शरिर भएको एकजना अतिथि आइपुग्नुभयो । उहाँ लोकगायक तथा भजन गायक प्रजापति पराजुली हुनुहुन्थ्यो । मलाई उहाँको अनुहार देखेपछि नाम भन्दा पहिला उहाँको चर्चित गीत “के खान्छौ कमला, सुन्तलाकी अमला” गीत सम्झेँ । उहाँको साथमा अरु अतिथिहरू पनि थिए । 


केवलकारको टप स्टेसन पुगेर झ¥यौँ । झरेपछि देउराली माताको मन्दिरबाट अगाडी हिँडेर नै अघि बढ्यौँ । हिँड्दा हिँड्दै प्रजापति दाईसँग अरु कुराकानी सुरु भए । म विजय एफएममा काम गर्ने थाहा पाएपछि, दाइले पुराना दिन सम्झनुभयो । उहाँले भन्नुभयो “विजय एफएमसँग त मेरो पुरानो घनिष्ठ सम्बन्ध छ । धेरै पहिले विजय एफएममा धेरै अन्तरंग गरेको अनुभव सुनाउनुभयो । मैले अहिले पनि विजय एफएममा धेरै लोक तथा दोहोरी गीत बज्ने सुनाएँ । उहाँले फेरी भन्नुभयो “लोकगीत बज्ने भएको कारण पनि श्रोताका मुटुको धड्कन बन्न सकेको छ, विजय एफएम । ” 


वि.सं. २०५७ सालमा हिँडेर मौलाकालिका पुग्नुभएका प्रजापति पराजुलीले मौलाकालिका मन्दिरको विकास देखेर अचम्मित हुनुभयो । लोक गायकका रुपमा परिचित पराजुली यस पटक नवलपुर अन्य कुनै प्रयोजनले नभइ भजन संस्कृतिको संरक्षणको अभियान लिएर आउनुभएको थियो । गायक पराजुलीले वि.सं. २०६७ सालदेखि भजन संस्कृति संरक्षणको अभियानको नेतृत्व गर्दै आउनुभएको छ । गायक पराजुली राष्ट्रिय लोक भजन चुट्का संरक्षण प्रतिष्ठानको संस्थापक अध्यक्ष हुनुहुन्छ । यो संस्था वि.सं. २०६७ साल असोज १२ गते स्थापना भएको थियो । प्रतिष्ठानले भजन संस्कृति संरक्षणको लागि देशभरि हिँड्ने अभियान रहेको पराजुलीले बताउनुभयो ।

यस संस्थाको जिल्ला शाखा विस्तारका लागि गायक पराजुली नवलपुर आइपुग्नुभएको थियो । गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका सबै जसो जिल्लामा राष्ट्रिय लोक भजन चुट्का संरक्षण प्रतिष्ठानको जिल्ला शाखा गठन भइ काम सुरु भइसकेको रहेछ । यसै साता नवलपुरमा पनि ढकबहादुर कार्कीको अध्यक्षतामा राष्ट्रिय लोक भजन चुट्का संरक्षण प्रतिष्ठानको जिल्ला शाखा गठन भइसकेको छ । यो सँगै अब देशभर ३३ वटा जिल्लामा जिल्ला शाखा गठन भएको गायक पराजुलीले बताउनुभयो । राष्ट्रिय लोक भजन चुट्का संरक्षण प्रतिष्ठानको केन्द्रीय कार्यालय पोखरा नदीपुरमा रहेछ । गायक प्रजापतिले २ कार्यकाल प्रतिष्ठानको नेतृत्व सम्हाल्नुभएको थियो ।

भजन संस्कृतिको संरक्षणको लागि प्रतिष्ठान नै स्थापना गरेर अभियान चलाउनुभएका गायक प्रजापतिलाई लोक तथा दोहोरी प्रतिष्ठानका साथीहरूले सौता हाल्यो भन्ने समेतको आरोप लगाएको गायक पराजुलीले सुनाउनुभयो । राष्ट्रिय लोक भजन चुट्का संरक्षण प्रतिष्ठानको जिल्ला शाखाहरूले भजन प्रतियोगिता आयोजना गर्ने, लोक भजन स्रष्टा उत्थान र औषधोपचारका कार्यक्रम सञ्चालन गर्ने लगायतका गतिविधि सञ्चालन गर्दै आएको गायक पराजुलीले बताउनुभयो ।

राष्ट्रिय लोक भजन चुट्का संरक्षण प्रतिष्ठानले स्रष्टा उत्थानका लागि ५ लाखसम्मको अक्षयकोष स्थापना गरेको रहेछ । प्रतिष्ठानले पोखरामा भजन किर्तन सहित निशुल्क रक्षा बन्धन कार्यक्रम गरेर चर्चा कमाएको किस्सा पनि सुनाउनुभयो । प्रतिष्ठानले प्रदेश स्तरीय भजन प्रतियोगिता, प्रतिष्ठानको भवन निर्माणका लागि महायज्ञ गरेको बताउनुभयो । धर्म संस्कृति प्रति आक्रमण भइरहेको अवस्थामा वैदिक सनातन धर्मप्रति मानिसहरूको जागरण स्थापित गर्नका लागि पनि भजन प्रतिष्ठानको आवश्यकता बोध भएको गायक पराजुलीले बताउनुभयो । यस प्रतिष्ठानले आमा समूहहरुलाई भजन गायन तथा बाद्यवादन सिकाउने पनि काम गर्दै आइरहेको रहेछ ।  

सभ्य समाज निर्माणका लागि पनि आफ्ना पुराना संस्कार र संस्कृतिको जगेर्ना गर्न आवश्यक भएको गायक पराजुलीको भनाइ छ । अहिले खैँजडी, मजुरा लगायतका भजनका लागि आवश्यक वाद्यवादनका सामग्री पनि लोपोन्मुख हुनबाट जोगाउन पनि भजन संरक्षणको अभियान गायक पराजुलीले अघि बढाउनुभएको रहेछ । भेटमा गायक पराजुलीले भजनका प्रकारका सन्दर्भमा पनि केही कुरा सुनाउनुभयो । 
भगवानको नाम जपेर संगीतका साधन बजाएर गाइएको गायनकलालाई भजन भनिने उहाँले बताउनुभयो । भजनका प्रकार हुने रहेछ । मैले पनि उहाँसंगको अन्तरंगमा थाहा पाएँ । भजनहरु आरती भजन, चुट्का भजन, लम्बरी भजन, ख्याली भजन, आशिर्वचन, निर्गुण भजन गरि विभिन्न प्रकारका हुनेरहेछन् । 

भजनका बारेमा भजनगायक पराजुलीले भन्नुभयो “पुर्खाको सम्मान, सम्झना, देवताको आह्वानका लागि गाइने भजनलाई आरती भजन भनिन्छ । पौराणिक कथा वा धार्मिक कथाका अंशहरुका कथालाई आधारबनाएर छोटो भजनलाई चुट्का भजन भनिन्छ । कथाका पात्र र चरित्रको बयान गर्दै लामो स्वर र लयमा गाइने लामो भजनलाई लम्बरी भजन भनिन्छ । लामो भजनका बीचमा केटाकेटीबीच ख्यालख्यालमा खेलेर धर्मकर्मका कुरा नगरी गाइने गीतका चुट्कालाई ख्याली भजन भनिन्छ । गाइका बारेमा गाइएका भजन निर्गुण भजन र भक्तजनहरुलाई आशिर्वाद प्रदान गरेर गाइने भजनलाई आशिर्वचन भजन भनिन्छ ।”


मौलाकालिका मन्दिरको पाकशालामा उहाँले चिया र चना खाँदै गर्दा यति मात्र कुराकानी गर्ने अवसर मिलेको थियो । यसपछि मौलाकालिका मन्दिरको प्राङ्गणमा भजन घन्किन थाल्यो । भजनपश्चात धार्मिक सेवा समिति मौलाकालिका मन्दिरका अध्यक्ष शालिकराम सापकोटाको अध्यक्षतामा बसेको जिल्ला भेलाले तदर्थ समिति गठन गरेको छ । भजनसंस्कृति संरक्षणको अभियन्ता प्रजापति पराजुलीकै सान्निध्यमा नवलपुरको शाखाका लागि तदर्थ समिति गठन भयो । 


राष्ट्रिय भजन चुट्का (संस्कृति) संरक्षण प्रतिष्ठान, नवलपुरको अध्यक्षमा ढकबहादुर कार्की चयन हुनुभएको छ । समितिको उपाध्यक्षमा गोकुल रेग्मी र हिरा महत्तो हुनुभएको छ । सचिवमा गणेश लामिछाने, कोषाध्यक्षमा पवित्रा कार्की खत्री, सहसचिवमा भीम सुवेदी, सहकोषाध्यक्षमा गोमा पौडेल, सदस्यहरुमा सिता न्यौपाने, नन्दलाल सापकोटा, पशुपति सापकोटा, तुलसी पौडेल, भानुभक्त पौडेल, तीर्थशरण भण्डारी, खेम काफ्ले, देवीसेन ठकुरी, गोपालराज भण्डारी, प्रवाखर भूषाल, सन्देश सापकोटा, धनेश्वर तिवारी, किरण न्यौपाने, शारदा बस्ताकोटी, धर्मदत्त वाग्ले र विमला प्याकुरेल चयन हुनुभएको छ । यस समितिले नवलपुर जिल्लामा भजन संस्कृतिको विकास र भजनका लागि वाद्यवादन सामग्रीको संरक्षण गर्ने विश्वास लिएको छु । धन्यवाद ।