विजय लिटिल च्याम्प : प्रथम गैँडाकोट ईं स्कूल, द्वितीय किड्सहोम, तृतीय बालउदय र चौँथो विजय सामुदायिक 

२०८० माघ २० शनिबार १८:२८:०० मा प्रकाशित


नवलपुर । विजय एफएम र विजय खबर पत्रिकाको आयोजना भएको  विजय लिटिल च्याम्प्स नृत्य प्रतियोगिता २०८० को उपाधि गैँडाकोट इङिलस स्कुलले प्राप्त गरेको छ ।

गैँडाकोट ईंग्लीस स्कूलका विद्यार्थी प्रेशिका सापकोटा र कृश थापाले नृत्य प्रस्तुत गरेका थिए ।  किड्स होम एकेडेमी गैँडाकोट १० ले दोस्रो स्थान हासिल गरेको छ । किड्स होमका  विद्यार्थी प्रिन्सा आले र मनोज आलेको पस्तुती रहेको थियो । गैँडाकोट १५ मा रहेको बाल उदय आधारभूत विद्यालयले तेस्रो स्थान हासिल गरेको छ । यस विद्यालयका तर्फबाट दिया पुन र जनक सुनारको प्रस्तुती रहेको थियो । यसैगरि प्रतियोगितामा विजय सामुदायिक शिक्षा सदनले सान्त्वना स्थान प्राप्त गरेको छ । यस विद्यालयका तर्फबाट दिपा हमाल र ओसम थापाले आफ्नो प्रस्तुती देखाएका थिए ।  

प्रतियोगितामा १९ वडा विद्यालयले सहभागिता जनाएका थिए । विजय लिटल च्याम्प्स् विजय सामुदायिक सूचना तथा सञ्चार सहकारी संस्था लिमिटेडद्वारा सञ्चालित सामुदायिक रेडियो विजय एफएम १०१.६ र विजय खबर पत्रिकाले आयोजना गरेका हुन् । 

प्रतियोगितामा प्रथम पुरस्कार २० हजार रुपैँया, द्वितीय पुरस्कार १५ हजार रुपैँया, तृतीय पुरस्कार १० हजार रुपँैया र सान्त्वना पुरस्कार ५ हजार रुपैँया रहेको थियो । कार्यक्रममा मोडल तथा डान्सर रुविना अधिकारीको प्रस्तुती रहेको थियो । 


गैँडाकोट नगरपालिकाका नगर उपप्रमुख शान्ति कोइरालाले विद्यार्थीको प्रतिभाले आफु प्रभावित भएको बताउँदै आगामी दिनमा गैँडाकोट नगरपालिकाले पनि यस्ता कार्यक्रम संचालन गर्ने प्रतिवद्धता जनाउनुभयो । विकासका नाममा भौतिक निर्माण मात्र नभई बालबालिकाको क्षेत्रमा पनि लगानी गर्नुपर्ने उहाँको भनाई थियो । 


सामुदायिक सूचना तथा सञ्चार सहकारी संस्था लिमिटेडका अध्यक्ष त्रिलोचन सापकोटाले बालबालिकाको प्रतिभा प्रस्फुटन गर्ने यस्ता कार्यक्रम आगामी दिनमा पनि निरन्तरता दिने बताउनुभयो । साथै उहाँले ठुलो रुख बनाउनु अघि बिरुवा राम्रो बनाउनु पर्ने भएकाले बालबालिकाका लागि  विजय लिटिल च्याम्प्स आयोजना गरिएको बताउनुभयो । 

सेन्टर कलेजका प्रिन्सिपल यज्ञविलास पौडेलले यस्ता कार्यक्रमका लागि आगामी दिनमा सहयोग गर्ने बताउनुभयो । त्यस्तै निणर्य समिति सदस्य सरस्वती तिमल्सेनाले बालबालिकाको क्षमता विकासमा लागि शिक्षक र अभिभावकले विशेष सहयोग गर्नुपर्नेमा जोड दिनुभयो । 


यस प्रतियोगितामा गैँडाकोट नगरपालिका भित्र रहेका आधारभूत तह (कक्षा १–५) का विद्यार्थीले सहभागिता जनाएका थिए । हरेक विद्यालयबाट १ जना छात्र र १ जना छात्रा गरि २ जनाले युगल नृत्य गरेका थिए ।
कार्यक्रममा संस्थापक अध्यक्ष खेमराज सापकोटा, विकू बचत तथा ऋण सहकारी संस्था लिमिटेडका अध्यक्ष  प्रेमप्रसाद सापकोटा (राजु), विजयश्री उपभोक्ता सहकारी संस्था लिमिटेडका अध्यक्ष  केशवप्रसाद सापकोट, गैँडाकोट ८ का वडा अध्यक्ष प्रेम सापकोटा, गैँडाकोट ५ का वडा अध्यक्ष रत्नप्रसाद सापकोटा, गैँडाकोट ३ का वडा अध्यक्ष शिवकान्त तिवारी, गैँडाकोट ७ वडा अध्यक्ष होमनाथ सापकोटा लगायतको उपस्थिति रहेको थियो । 
कार्यक्रमको सहजीकरण संस्थाका सचिव भानुभक्त रिमाल, प्रस्तोता पूर्ण शर्मा र पवित्रा पराजुलीले गर्नुभएको थियो । कार्यक्रममा अतिथिहरुलाई संस्थाका उपाध्यक्ष गिरिराज लम्सालले शब्द मार्फत स्वागत गर्नुभएको थियो ।