आज विश्व रेडियो दिवश : रेडियोको आवश्यकता र भविष्यका सन्दर्भमा विजय एफएममा रेडियो बहस

२०८० फाल्गुण १ मंगलबार ०५:४२:०० मा प्रकाशित


काठमाडौँ । आज तेह्रौँ विश्व रेडियो दिवस, नेपालमा पनि बिभिन्न कार्यक्रम गरी मनाइँदैछ । रेडियोको महत्व तथा भूमिकालाई मध्यनजर गर्दै संयुक्त राष्ट्र संघको आव्हानमा सन् २०१२ फेबु्रअरी १३ का दिनबाट प्रत्येक वर्षको फेब्रुअरी १३ मा विश्वभर रेडियो दिवस मनाउन थालिएको हो ।  विगत वर्षहरू जस्तै यस वर्ष पनि समुदायको समेत सहभागितामा रेडियो प्रसारणको महत्व एवं प्रसारकको दायित्ववमा केन्द्रीत सरोकारवालाहरूको समेत सहभागितामा विभिन्न कार्यक्रमका साथ विश्व रेडियो दिवस मनाइदै छ । 
रेडियो मानव समुदायको निकट एवं सरल र भरपर्दो माध्यमको रूपमा स्थापित छ । विश्वमा प्रविधिले ल्याएको परिवर्तनसँगै रेडियोको विकास र विस्तारमा पनि परिवर्तन भएको छ । रेडियो प्रविधिको विकास र आविश्कारले गर्दा विश्व समुदायलाई रेडियोका विषयवस्तुले तीब्र गतिमा जोड्ने काम गरेको छ । प्राकृतिक प्रकोप, सामाजिक आर्थिक समस्या, महामारी जस्तोसुकै परिस्थितिमा पनि रेडियोले संकट न्यूनिकरणमा योगदान दिदै आएको छ । 


दिवसको अवसरमा एक शुभकामना सन्देश जारी गर्दै विजय एफएम सञ्चालक संस्था विजय सामुदायिक सूचना तथा सञ्चार सहकारी संस्था लिमिटेडका अध्यक्ष त्रिलोचन सापकोटाले सबै रेडियो र रेडियोकर्मीहरूलाई शुभकामना व्यक्त गर्नुभएको छ ।
आगामी दिनमा विकटमा रहेका, अन्य माध्यमको पहुँचबाहिर रहेका, अल्पसंख्यक, विपन्न र आवाजविहीनहरूको आवाजको रूपमा आम नागरिकलाई सही सूचना सम्प्रेषणमा रेडियोको भूमिका अझ प्रभावकारी बनाउने बताउनुभएको छ । 


दिवसको अवसरमा आज विहान साढे ७ बजेबाट सामुदायिक रेडियो विजय एफएम १०१.६ मा रेडियोको आवश्यकता र भविष्यका सन्दर्भमा रेडियो बहस कार्यक्रम हुँदैछ । यस कार्यक्रममा नवलपरासी पूर्व र पश्चिम क्षेत्रकै पहिलो रेडियो विजय एफएमका संस्थापक अध्यक्ष खेमराज सापकोटा, चितवनको पहिलो रेडियो सिनर्जी एफएमका संस्थापक सञ्चालक सहन प्रधान, गैँडाकोट नगरपालिका वडा नं. ८ का वडा अध्यक्ष प्रेम सापकोटाको सहभागिता रहनेछ । 


सामुदायिक रेडियो विजय एफएम १०१.६ मा विगत साढे २ वर्षमा २५ हजार बढी स्थानीले प्रत्यक्ष रुपमा आफ्ना विचार तथा भावना रेडियोका माध्यमबाट राखेको विजय एफएमका स्टेशन म्यानेजर श्रीधर उपाध्यायले बताउनुभयो ।