पहिला मानव भएर बाँचौँ, अनि मनाऔँला नारी दिवस
सुदूर पूर्व होस् वा सुदूर पश्चिम, नेपालको कुना काप्चा, कन्दरा अनि ती दुर्गम र विकट बस्ती जहाँ भाले बासेको आवाजले बिहानीको सङ्केत गर्छ र सुरु हुन्छ महिलाको दैनिकी । कोखिलामा गाग्री च्यापेर झिसमिसेमा पँधेरी पुगी घण्टौँको उकालो र ओरालो गर्दै झरेकी आमालाई मार्च ८ के हो भनेर थाहा होला र ? न बिजुली, न यातायात न सञ्चार न कहिल्यै तामझामका औपचारिक कार्यक्रम न अधिकारको लडाइँ बस् गरिबी, अशिक्षा, बेरोजगारी, भोकमारी, चुलो चौका, खेतीपाती, गाईवस्तु र अभावका बिच बेसहारा बनेर बाँचिरहेको छ गाउँ । न अखबार गाउँमा पुग्न सक्यो न अखबारले नै गाउँलाई हेडलाइन बनाउन सक्यो र त बेखबर छ शहर गाउँका दैनिकी र पीडासँग । गर्भवती आन्टीलाई बेथा लागेर डोकोमा राखेर अस्पताल ल्याउँदै गर्दा बाटामै मृत्युवरण गर्नुपर्छ, बहिनी महिनावारी हुँदा छाउपडी बस्नुपर्छ, आमा ५/७ जना सन्तान जन्माएर आङ खस्ने रोगको पीडा भोगिरहनुभएको छ, दिदी दोजिया शरीरमाथि ढाडमा दुधे बच्चा बोकेर मेलापातमा जानुभएको छ । के यी दूरदराजका आन्टी, बहिनी, आमा अनि दिदीको पीडालाई मार्च ८ ले महसुस गर्न सक्ला त ?
मार्च ८ का दिन विश्वभरी मनाइने नारी दिवस महिला जागरूकता सम्बन्धी दिवस हो । महिला अधिकार, महिला सशक्तीकरण र लैङ्गिक समानता आदि सवालहरू नारी दिवसका विषयहरू हुने गरेका छन् । नेपालमा पनि विविध कार्यक्रम सहित नारी दिवस मनाउँदै आइएको छ । पछिल्लो समय दिवस मनाउने शैलीलाई आधुनिकताले छोपेको भान हुन्छ । दिवसका लागि मात्रै दिवस मनाए झैँ भयो भन्ने टीका टिप्पणी पनि हुने गरेका छन् । कालो चस्मा टाउको माथि राखेर, सुकिला मुकिला लुगा लगाएर, नाकै फुट्ने गरी अत्तर छर्केर, चिल्ला गाडीबाट झरेर, पाँचतारे होटलका वातानुकूलित सभाहलमा बसेर कागजका खोस्टामा लेखिएका कथित महिला अधिकारको भाषण र आदर्श छाटेर दुईचारजनाको परर तालीमै सीमित हुने नारी दिवसले के साँच्चै महिलाको आवाजलाई बुलन्द पार्न सक्यो होला त ?
ती बस्ती–बस्तीमा पुगौँ, त्यहाँका महिलाको दैनिकी भोगौँ, आवश्यकताको पहिचान गरौँ, स्थानीय निकायलाई झक्झक्याउँ, मार्च ८ लाई मात्रै होइन सिङ्गो मार्च महिनालाई नै उत्सवका रुपमा मनाऔँ ता की ती महिलाहरुले पहिला त मानव भएर बाँच्न पाऊन् अनि नारी दिवसको महत्व बुझ्न सकून् ।
अब भने नारी दिवस मनाउने शैलीमा परिवर्तन आउनु जरुरी छ । सहर केन्द्रित नारी दिवसलाई ग्रामीण महिलाहरुले महसुस गर्ने किसिमको कार्यक्रम ल्याउनु आवश्यक छ । ती बस्ती–बस्तीमा पुगौँ, त्यहाँका महिलाको दैनिकी भोगौँ, आवश्यकताको पहिचान गरौँ, स्थानीय निकायलाई झक्झक्याउँ, मार्च ८ लाई मात्रै होइन सिङ्गो मार्च महिनालाई नै उत्सवका रुपमा मनाऔँ ता की ती महिलाहरुले पहिला त मानव भएर बाँच्न पाऊन् अनि नारी दिवसको महत्व बुझ्न सकून् ।
पछिल्लो समय सामाजिक सञ्जाल नै तताउने गरी आएका सहरी महिलाका भिडियो र कन्टेन्टहरुले महिला हुँ भन्न पनि लाजमर्दो हुने अवस्था आइसकेको छ, यो अवस्था भनेको स्वतन्त्रताको पराकाष्ठा हो । अतः छाडावाद भन्दा पनि अतियुक्ति नहोला । यी र यस्ता विषयलाई पनि अब नारी दिवसले बहसको विषय बनाउनुपर्ने टड्कारो आवश्यकता देखिन्छ । कहीँ महिला न्यूनतम् मानवअधिकारका मापदण्डबाट बन्चित छन् भने कहीँ अधिकारको दुरुपयोग भइरहेको छ । यो अवस्थालाई सन्तुलनमा ल्याएर समतामूलक समाज निर्माणमा सबैको हातेमालो जरुरी छ । महिला र पुरुष भनेर लैङ्गिकताका हिसाबले भन्दा पनि हामी सबै मानव हौँ भन्ने उदारवादी सोचले अगाडि बढ्नु नै बुद्धिमता हो । महिलाका समस्या महिलाका मात्रै हुन् भन्ने सङ्कीर्ण सोच जरैदेखि उखलेर फाल्नुपर्ने देखिन्छ ।
हामीले राष्ट्रपति महिला पायौँ, प्रधानन्यायाधीश महिला पायौँ, सभामुख पनि महिला पायौँ तर महिलाको आत्मसम्मान र सुरक्षाको बारेमा निर्धक्कसँग बोल्ने महिला पाएनौँ । महिला नै नेतृत्व तहमा भएकै बेला निर्मलाले न्याय नपाउनुले महिला हकहितका बारेमा बोल्न खुट्टा कमाउने, बोली लरबराउने र आफूमाथिको विश्वास अरूमाथि टेकेर गर्ने अवस्था रहुञ्जेल नेतृत्व तहमा महिला पुगे पनि त्यसले कुनै प्रभाव पार्न नसक्ने रहेछ भन्ने कुराको दरिलो प्रमाण प्रस्तुत गरिसकेको छ ।
कानुनले महिलालाई सशक्त बनाइएको भएपनि त्यसको कार्यान्वयनको पाटो सोचेभन्दा फितलो भइदिँदा महिलाहरू अझै अन्यायमा परिरहेको तितो यथार्थ हामी माझ छदैँ छ । महिलाबारे बनेका सरकारी नीति नियम र कानुनबारे आम नागरिकलाई सुसूचित बनाउने प्रतिवद्ध निकाय नहुँदा ठूलो सङ्ख्यामा महिलाहरू पछाडि नै परिरहेको हामीले देखिरहेका छौँ । पछिल्लो समयलाई हेर्ने हो भने जसले महिलाका लागि पैरवी गरिरहेका छन् उनीहरु नै यौनजन्य हिंसामा परेका खबरहरु पनि बेलाबखत सुनिने गरेको छ अझ त्यो पनि राजनैतिक हाइ प्रोफाइलका पुरुष पात्रद्वारा।
शासन व्यक्तिको होइन विधिको हुनुपर्छ । देशमा संविधान छ अनि न्यायालय पनि । कानुन भन्दा माथि कोही हुन सक्दैन । कानुनी राज्यको पालना गर्नु हरेक नागरिकको कर्तव्य हो । पद, प्रतिष्ठा र पैसाको आडमा देखाइने दम्भले समाजलाई अराजकतातर्फ धकेल्छ र आज हामीले जे भोगिरहेका छौँ यो सबै यसैको परिणति हो । त्यसैले रिस, क्रोध, ईष्र्या, डाहा, घमण्ड त्यागीएकले अर्कोको अस्तित्वलाई स्वीकार गर्ने हो भने त्यहाँ मानवता जाग्ने छ र स्वतः अराजकता भाग्ने छ । म महिला भएर होइन मानव भएर बाँच्न चाहन्छु । म मानव भएर बाँच्न पाएँ भने मसँग जोडिने आधा भन्दा धेरै हिंसा मेरो भु्रण तुहिए झैँ तुहिने छन् । त्यसैले पहिला मानव भएर बाँचौँ, यति गर्दा पनि हाम्रा पीडा जिउँका तिउँ रहे भने मनाऔँला नारी दिवस र गरौँला चीत्कार न्यायका लागि ।
(लेखक रञ्जना लामिछाने विजय सामुदायिक शिक्षा सदन र एसपिएम कलेजमा शिक्षण गर्नुहुन्छ ।)