श्रीमायाको अनुभव “कक्षा शिक्षण ठिक रहेछ”

नवलपरासी पूर्व । श्रीमाया गुरुङले विद्यालयमा पढाउन थालेको आठ वर्ष भयो । उहाँले सुरुदेखिनै श्रीकृष्णगण्डकी माध्यामिक विद्यालय गैँडाकोट ३ ढोडेनीमा पढाउँदै आउनुभएको छ । बैशाख २५ गते विहीबार कक्षा कोठामा भेट्दा उहाँ कक्षा १ का विद्यार्थीलाई हिन्दु अरेविक संख्या सिकाउँदै हुनुहुन्थ्यो । २०८१ को शैक्षिक सत्रबाट गुरुङले कक्षा शिक्षण थाल्नुभएको हो । एउटा कक्षामा सबै विषयहरू एउटै शिक्षकले सिकाउने गरि व्यवस्थापन मिलाइएको शिक्षणलाई कक्षा शिक्षण भनिन्छ ।
श्रीमाया गुरुङले अघिल्लो वर्ष पनि कक्षा १ मा नै कक्षा शिक्षण गर्नुभएको थियो । उहाँले अहिले पनि कक्षा १ मा सबै विषय आफै सिकाउन सुरु गर्नुभएको छ । विहान १० बजेदेखि अपरान्ह ४ बजेसम्म एउटै शिक्षकले शिक्षण गर्नु कत्ती सहज हुने रहेछ भन्ने प्रश्नमा गुरुङ भन्नुहुन्छ “सुरुसुरुमा अप्ठेरो गाह्रो लागेको थियो । कताबाट सुरुवात गरौँ झैँ भएको थियो । तर पछि पाठ्यक्रमको अवधारणा बुझेँ अनि सहज भयो । पाठ्यक्रम एकीकृत छ नी त, एउटै तस्वीर देखाएरपनि नेपालीको, अंग्रेजीको, गणितको, हाम्रो सेरोफेरोका सबै कुरा सिकाउन सजिलो हुने रहेछ ।”
विषय शिक्षण गर्दा श्रीमायाले पहिले कहिले कम्प्युटर, कहिले विज्ञान विषय, कहिले अरु विषय पनि पढाउनुहुन्थ्यो, तर अहिले कक्षा शिक्षणमै रमाउनुभएको छ । पालिकाले एकीकृत पाठ्यक्रमका सन्दर्भमा पाठ्यक्रम प्रवोधिकरण कार्यक्रम गरेको बेला कक्षा शिक्षणको अवधारणा बुझेपछि श्रीमायालाई यतै रमाउन मन लाग्यो ।
श्रीमायाले दिनमा दुई विषयमात्र पढाउनुहुन्छ । तीनदिनसम्म दुई वटा विषय, बाँकी तीन दिनमा अन्य विषय सिकाउने गर्नुभएको छ । यसरी एउटै विषयलाई लामो समय लिएर सिकाउँदा प्रभावकारी हुने गरेको श्रीमायाको अनुभव छ । दिनभरको समय व्यवस्थापनका सन्दर्भमा श्रीमाया भन्नुहुन्छ “बच्चालाई इच्छाअनुसार सिकाउँछु, विहानको सुरुवातको समयमा उनिहरू फ्रेस मुडमा हुन्छन्, त्यतिबेला मज्जाले पढाउने सिकाउने गर्दछु, दिउँसो पुगेपछि क्रियाकलाप आधारित रहेर सिकाउँछु, अलि पछि चाँहि संगीत, खेल आदिको माध्यमबाट सिकाउँदै आएको छु । उनिहरूको परिस्थिति बुझेर सिकाइ क्रियाकलाप अघि बढाउन पर्ने रहेछ ।
हामी कहाँ मगर समुदायको बाहुल्यता छ, उनिहरुको मातृभाषाको माध्यमबाट पनि सुरुवातमा कतिपय विषय सिकाउन पर्दछ, पहिला त उनिहरुलाई बुझाउन परोनी त अनि बल्ल सिकाउन सजिलो हुन्छ । पहिला उनिहरूको भाषामा सिकाउँछु्, अनि नेपालीमा सिकाउने, सोही विषय अंग्रेजीमा सिकाउने ।”
सात वर्षसम्म विषय शिक्षण गर्नुभएकी गुरुङलाई कक्षा शिक्षण विधि नै उपयुक्त लाग्यो । उहाँ भन्नुहुन्छ “मलाई कक्षा शिक्षण नै ठिक लाग्यो, किनकी शिक्षक एउटै बच्चासँग घुलमिल हुन पाउँछ, बच्चा कस्तो प्रकृतिको छ ? भनेर शिक्षकले ठ्याक्कै थाहा पाउन सकिन्छ । उसको अवस्था अनुसार उसलाई गाइड गर्न सजिलो हुन्छ । विषयगत शिक्षणमा एउटा शिक्षक आउने, पढाउने जाने, फेरी अर्को आउने हुन्छ । विषयगत थिम पनि शृङ्खलाबद्ध हुँदैन, एउटाले एउटा थिम पढाएको हुन्छ, अर्कोले अर्को थिम पढाइदिन्छ । कक्षा १ देखि कक्षा ३ सम्म विषय शिक्षणभन्दा कक्षा शिक्षण नै प्रभावकारी हुने रहेछ । सिक्न पनि सजिलो र सिकाउन पनि सजिलो हुनेरहेछ । बच्चाले शिक्षकलाई आमाजस्तै व्यवहार गर्दछन् ।”
कक्षा कोठामा प्रत्येक विद्यार्थीको मूल्याङ्कन पालिकाले उपलब्ध गराएको कार्यसञ्चयिकामा गरिन्छ । कुन कुन पक्षमा विद्यार्थीको सिकाइ उपलब्धी कस्तो रह्यो सम्पूर्ण विवरण कार्यसञ्चयिकका फारममा उल्लेख गर्ने गरिएको छ । प्रत्येक पाठ सकिएपछि, उनिहरुको सिकाइ मूल्याङ्कन गर्ने गरेको गुरुङले बताउनुभयो । गुरुङ भन्नुहुन्छ “पहिले विषय शिक्षण हुँदा ४÷५ कक्षा पुग्दापनि कखरा, १२३, एबिसिडि नजानी पुगेको हुन्थ्यो, अहिले त्यस्तो छैन, शब्द र अक्षर चिनेरै कक्षा २ मा गएको छ । कक्षा शिक्षण गर्ने शिक्षकलाई आफ्नो विद्यार्थीको एकदम माया पनि जिम्मेवारी पनि हुने रहेछ ।”
श्रीमायाले कक्षा शिक्षण गर्ने कक्षा कोठा भने आकर्षक छैन । एकसरो हरियो कार्पेट भुँइमा ओछ्याइएको छ । भित्ताबाट विद्यार्थीले सिक्ने कुरा केही छैन । भित्तामा लेखिएका अक्षरको साइज बालमैत्री छैन । जस्तामुनि विद्यार्थी बस्छन् । विद्यार्थी बस्न काठका बेञ्चको व्यवस्था छ । शिक्षण सामग्री राख्न काठको दराज छ । कक्षामा एउटा लेख्न बोर्ड छ । विद्यार्थी थोरै छन् । प्रत्येक वर्ष विद्यार्थी घट्दैछन् । शिक्षक गुरुङ भन्नुहुन्छ “यस्तो गर्मीमा पङ्खा पनि प्रयाप्त छैन । भित्तामा पेण्टहरु गर्न सकेको भए, भित्तामा हेरेर पनि सिक्न पाउने थियो । बसाई व्यवस्थापन राउण्ड टेवलमा भयो भने समूहमा छलफल गर्न अझै सजिलो हुने थियो । सरहरुलाई भनेको छु, बनाउने भन्नुभएको छ ।” रङ्ग र जिप्सन लगाइदिए कक्षाको सुन्दरतामा काम गर्न श्रीमायालाई इच्छा छ । विद्यालयका प्रधानाध्यापक सूर्यनाथ तिवारीले वडाले बजेट विनियोजन गरेको हुँदा यसै सत्रमा कक्षा कोठा व्यवस्थापनमा ध्यान दिइने बताउनुभयो ।
अभिभावकलाई अभिभावक शिक्षा दिन पाए नियमित विद्यालय आउने समस्या कम हुन्थ्योकी भन्ने श्रीमायालाई लागेको छ । उहाँ भन्नुहुन्छ, सबै मेरा हातमा छैन, सबै जानेको पनि छैन, वातावरण राम्रो बनाइदिए, नयाँ शैली र सीप सिकाइदिए अझ सहज हुने थियो ।”
कक्षा शिक्षण गर्दा बच्चाको बानी व्यवहारमा सुधार, पढ्ने बानीको विकास, सामुहिक क्रियाकलापमा सहभागि हुने बानीको विकास, कक्षागत नीतिनियमको परिपालना गराउन सहजता र आधारतूत सिकाई प्रभावकारी हुने श्रीमायाको एकवर्षको अनुभव रहेको छ ।