जिल्ला स्तरीय कविता प्रतियोगिता : प्रकाश पराजुली प्रथम

२०८० फाल्गुण २८ सोमबार २०:०९:०० मा प्रकाशित

गैँडाकोट । गैँडाकोटमा भएको दोस्रो नवलपुर जिल्ला स्तरीय कविता प्रतियोगितामा मध्यविन्दुका प्रकाश पराजुली प्रथम भएका छन् । 

देवचुली १ का निमा पौडेल तिवारी द्वितीय, कालिका संस्कृत विद्यापीठका अपिल खनाल तृतीय भए । गैँडाकोट ११ का योगेन्द्रप्रसाद ढुङ्गाना र सागर थापाले सान्त्वना स्थान हासिल गरे । उनीहरुलाई क्रमशः २० हजार, १५ हजार, १० हजार र सान्त्वना दुईजनालाई प्रोत्साहनवापत ५/५ हजार पुरस्कार प्रदान गरियो ।

गैँडाकोट नगर प्रज्ञा प्रतिष्ठानको आयोजना एवं विजय एफएम १०१.६को सह आयोजनामा सोमबार जनक नमुना मावि परिसर गैँडाकोट ५ मा रहेको गैँडाकोट नगर प्रज्ञा प्रतिष्ठानको सभाकक्षमा आयोजित नवलपुर जिल्ला स्तरीय कविता प्रतियोगितामा २४ वटा मध्ये १६ वटा कविता मात्रै छनोटमा परेका थिए ।  

निर्णायक समितिमा संयोजक डा. मतिप्रसाद ढकाल, सदस्यहरु सिर्जन लम्साल र कृष्णमणि पहारी रहेका थिए । 

गैँडाकोट नगर प्रज्ञा प्रतिष्ठानका अध्यक्ष एवं गैँडाकोट नगरपालिकाका नगर प्रमुख मदनभक्त अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा रत्ननगर वाङ्गमय प्रतिष्ठानका अध्यक्ष रामबाबु घिमिरे प्रमुख अतिथि थिए । 

कार्यक्रम संयोजक रामहरी शर्माले स्वागत मन्तव्य व्यक्त गरेको सो कार्यक्रममा उपकुलपति गोविन्दराज विनोदी, साहित्यकार एवं गण्डकी प्रदेशका पूर्व सांसद विष्णुप्रसाद लामिछाने लगायतले कविहरुलाई उत्प्रेरणा प्रदान गरेका थिए । 

सो अवसरमा रामहरी शर्मा ‘शराह’को ‘प्रातः प्रवाह’ कोषकाव्य विमोचन गरिएको थियो । कार्यक्रमको सहजीकरण गैँडाकोट नगर प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव भीम शर्माले गरेका थिए ।