भूजेलबासीहरुलाई सचेतना प्रदान, “हो ! हामी क्षयरोग अन्त्य गर्छौ” 

२०८० चैत ११ आइतबार १७:१४:०० मा प्रकाशित

गैँडाकोट । गैँडाकोट नगरपालिका स्वास्थ्य शाखाले विश्व क्षयरोग दिवशको अवसरमा समुदायमा सचेतना कार्यक्रम गरेको छ । गैँडाकोट ३ भूजेल गाउँमा रहेका भूजेलबासीहरुलाई सचेतना प्रदान गरेको हो । 

“हो ! हामी क्षयरोग अन्त्य गर्छौ” भन्ने मूल नाराका साथ विश्व क्षयरोग दिवश मनाइएको हो ।  

सचेतना कार्यक्रममा क्षयरोग मुक्त अभियान गैँडाकोटका संयोजक नारायण सापकोटा र जनस्वास्थ्य निरीक्षक प्रकाश पोख्रेलले सचेतना प्रदान गर्नुभएको हो । कार्यक्रमको सहजिकरण स्वास्थ्य शाखाका जनस्वास्थ्य निरीक्षक माधव आचार्यले गर्नुभएको थियो । 

गैँडाकोट नगर प्रवक्ता एवं गैँडाकोट ३ का वडा अध्यक्ष शिवकान्त तिवारीले क्षयरोगी पत्ता लगाई न्यूनीकरणका कार्यक्रम सञ्चालन गरिने जानकारी दिनुभयो । यसअघि क्षयरोग मुक्त अभियान अन्तर्गत गाउँघर क्लिनिक सञ्चालन गर्ने स्वास्थ्यकर्मी तथा महिला सामुदायिक स्वास्थ्य स्वयम्सेविकलाई क्षयरोग सम्बन्धी अभिमुखिकरण गरिएको थियो । 

आफै स्वास्थ्य संस्थामा आई परीक्षण गराउने क्रम न्यून हुन थालेपछि राष्ट्रिय कार्यक्रम अनुसार नै यो अभियान सञ्चालन गरिएको गैँडाकोट नगर स्वास्थ्य शाखा प्रमुख झलकराज पौडेलले जानकारी दिनुभयो । गैँडाकोटमा गत आर्थिक वर्ष १२९ जनामा क्षयरोग देखिएको थियो । चालु आर्थिक वर्षमा ६२ जनामा पुष्टि भइसकेको पाइएको र अन्यको खोज पड्ताल जारी रहेको स्वास्थ्य शाखाले जनाएको छ । 

नवलपुरमा दुई सय ८४ जना नयाँ क्षयरोगी भेटिए

नवलपरासी (बर्दघाट सुस्तापूर्व)मा चालु आर्थिक वर्षको माघ मसान्तसम्म दुई सय ८४ जना नयाँ क्षयरोगी भेटिएका छन् । स्वास्थ्य कार्यालय नवलपुरका अनुसार साउनदेखि माघसम्म जिल्लामा एक सय ९७ पुरुष र ८७ महिला गरी दुई सय ८४ जना नयाँ क्षयरोगी पहिचान भएका हुन् । नयाँ क्षयरोगीमध्ये दुई दशमलव आठ प्रतिशत बालबालिका छन् ।

साउनदेखि माघसम्म जिल्लामा भेटिएका क्षयरोगीमध्ये १० जनाको मृत्यु भएको छ । क्षयरोग लागेर मृत्यु हुनेमध्ये सात पुरुष र तीन महिला रहेको जिल्ला स्वास्थ्य कार्यालय नवलपुरका प्रमुख मुक्ति भट्टाराईले बताउनुभयो ।

जिल्लामा अहिले दुई सय ८४ जना क्षयरोगीले औषधि सेवन गरिरहेको उहाँले बताउनुभयो । उहाँले औषधि सेवन गरिरहेका क्षयरोगीमध्ये १० जनाको मध्यविन्दु जिल्ला अस्पतालको क्षयरोग उपचार केन्द्रमा आवासीयरूपमा उपचार भइरहेको बताउनुभयो ।

जिल्लामा भेटिएका क्षयरोगीमध्ये सबैभन्दा बढी कावासोती नगरपालिकामा ६४, गैंडाकोट नगरपालिकामा ६२, देवचुली नगरपालिकामा ५१, मध्यविन्दु नगरपालिकामा ३९ र विनयी त्रिवेणी गाउँपालिकामा २९ जना रहेका छन् । यसैगरी, हुप्सेकोट गाउँपालिकामा २८, बुलिङटार गाउँपालिकामा सात र सबैभन्दा कम बौदीकाली गाउँपालिकामा चारजना क्षयरोगी रहेको प्रमुख भट्टराईले बताउनुभयो ।

जिल्लामा भेटिएका क्षयरोगीमध्ये ९४ दशमलव चार प्रतिशत रोगीको सफल उपचार गरिएको जिल्ला स्वास्थ्य कार्यालय नवलपुरका क्षयरोग ‘फोकल पर्सन’ डिल्लीराम तिवारीले बताउनुभयो ।

मध्यविन्दु जिल्ला अस्पताल डण्डामा डिआर (ड्रक रेसिस्टेन्ट) होस्टल रहेको छ । यहाँ चितवन जिल्लाका सात, नवलपरासी (बर्दघाट सुस्तापूर्व) र तनहुँका एक–एक गरी १० जना डिआर क्षयरोगीको आवासीयरुपमा उपचार भइरहेको छ । 

गण्डकी प्रदेशमा डिआर होस्टल नवलपरासी (बर्दघाट सुस्तापूर्व)सँगै बागलुङ र कास्की जिल्लामा रहेका छन् । क्षयरोगको उपचारका लागि गण्डकी प्रदेशमा नौ सय ४५ डट्स केन्द्र रहेको छ ।