डण्डामा विद्यालयमा मौरीले मच्चायो वितण्डा, मौरीले चिल्दा ८ बालबालिका घाइते 

२०८० चैत १३ मंगलबार १४:०८:०० मा प्रकाशित

नवलपुर । मंगलबार बिहानै विद्यालय खुल्ने वित्तिकै कावासोती १६ डण्डा स्थित जनता माध्यमिक विद्यालयमा मौरीले वितण्डा मच्चाएको छ । 

विद्यालय परिसरमा एक्कासी देखिएको मौरीले चिल्दा ८ जना बालबालिका समेत घाइते भएका छन् । मौरीले शरीरको विभिन्न भागमा चिलेर घाईते हुनेहरुमा कक्षा १ मा पढ्नेदेखी ४ कक्षामा पढ्ने सम्म रहेका छन् ।  

विद्यालयमा बिहान साढे १० बजेको समयमा उनीहरुलाई मौरीले टोकेको हो । उनीहरुलाई उपचारका लागि मध्यबिन्दु जिल्ला अस्पताल डण्डा पठाइएको छ । सबैको अवस्था मध्यम रहेको जिल्ला प्रहरी कार्यालय नवलपुरका सूचना अधिकारी प्रहरी नायब उपरिक्षक बेद बहादुर पौडेलले जानकारी दिनुभयो । 

मौरीले चिलेर घाइते हुनेमा जनता माध्यमिक विद्यालयमा कक्षा २ मा अध्यनरत ९ वर्षकी रन्जित थापा मगर, ७ वर्षकी मनकुमारी परियार, कक्षा ३ मा पढ्ने ९ वर्षका विष्णु खनाल, १० वर्षका सौरभ पोख्रेल, कक्षा ४ मा अध्यनरत वर्ष १० का अर्चन पौडेल, वर्ष ११ की चनमती मास्की मगर, वर्ष १० की रोजिना बोहोरा र वर्ष ११ की समन परियार रहेका छन् ।

घाइते हुने विद्यार्थीहरु विद्यालय आसपास डण्डा, थारुडण्डा, सेतोपानी, पिप्रेनीका बालबालिका हुन् ।