गैँडाकोटका आठ विद्यालयले पाए कक्षा र विषय थपको अनुमति 

२०८० चैत १३ मंगलबार १५:५४:०० मा प्रकाशित

गैँडाकोट । आउँदो शैक्षिक सत्रका लागि गैँडाकोट नगरपालिकामा रहेका आठ वटा विद्यालयले कक्षा र विषय थपको अनुमति पाएका छन् । 

यसरी अनुमति पाउनेमा वर्षेनी कक्षा बढाउँदै लगेका विद्यालय छन् । दुई वटा विद्यालयलाई कक्षा ८, अर्का दुई वटालाई कक्षा ९ र एउटालाई कक्षा १० कक्षा सञ्चालको अनुमति दिइएको छ भने कक्षा ११ र १२ सञ्चालन गर्दै आएका तीनवटा माध्यमिक विद्यालयलाई होटल म्यानेजमेन्ट विषय थपको अनुमति दिइएको छ । 

शैक्षिक सत्र २०८१ लागि उपल्लो कक्षा र विषय थपका लागि विद्यालयहरुले दिएको निवेदन तथा अनुगमनपछि यस्तो अनुमति प्रदान गरिएको गैँडाकोट नगर शिक्षा समितिका अध्यक्ष समेत रहनुभएका नगर प्रमुख मदनभक्त अधिकारीले बताउनुभयो । नगर शिक्षा समितिले नगर कार्यपालिकालाई गरेको सिफारीसका आधारमा कार्यपालिका बैठकले समेत कक्षा र विषय थपको लागि अनुमति दिने निर्णय गरेको प्रमुख प्रशासकीय अधिकृत झविन्द्र खनालले जानकारी दिनुभयो । 

निम्बार्क संस्कृत गुरुकुलम् गैंडाकोट १ ले कक्षा ८ सञ्चालनको अनुमति पाएको छ । योगी नरहरिनाथ अध्यात्म गीता विज्ञान पाठशाला, गैंडाकोट १० ले पनि कक्षा ८ सञ्चालनको अनुमति पाएको छ ।

स्मल हर्ट एकेडमी, गैंडाकोट ४ ले कक्षा ९ सञ्चालनको अनुमति पाएको छ । त्यस्तै मौलाकाली संस्कृत विद्यापीठ, गैँडाकोट १ ले पनि कक्षा ९ सञ्चालनको अनुमति पाएको छ । 
त्यसैगरी किड्स होम एकेडेमी गैंडाकोट १० ले कक्षा १० सञ्चालनको अनुमति पाएको छ । 

कक्षा ११ र १२ सञ्चालन गर्दै आएका गैंडाकोट नमूना ईङ्गलिस बोर्डिङ स्कूल, गैंडाकोट २, जनक नमुना माध्यमिक विद्यालय गैंडाकोट ५ र रत्नराज्य लक्ष्मी माध्यमिक विद्यालय, गैंडाकोट–१० ले विषय थप सञ्चालनको अनुमति पाएका हुन् । अब यी तीन विद्यालयमा होटल म्यानेजमेन्टमा समेत अध्यापन हुने छ ।