गैँडाकोटमा वन डढेलो नियन्त्रणका लागि सचेतना प्रदान 

२०८० चैत १४ बुधबार १६:५०:०० मा प्रकाशित


नवलपुर । गैँडाकोटमा वन डढेलो नियन्त्रणका लागि सचेतना प्रदान गरिएको छ । 


बुधवार सामुदायिक वन उपभोक्ता महासंघ नेपाल, स्थानीय महासंघ गैँडाकोटको आयोजनामा गैँडाकोट नगरपालिका परिसरमा वन संरक्षणकर्मी एवं उपभोक्तलाई सचेतना प्रदान गरिएको हो । 

सचेतना कार्यक्रममा गैँडाकोट नगरपालिकाका नगरप्रमुख मदनभक्त अधिकारीले वनमा आगो मानव कै कारण लाग्ने भएकाले सचेतना नै अग्नि नियन्त्रणको पहिलो उपाए रहेको  बताउनुभएको छ । उहाँले आगो लागिसकेपछि उपाए खोज्नु भन्दा पनि आगो लाग्न नदिन नै कोशिस गर्न सम्पूर्ण सामुदायिक वनलाई आग्रह गर्नुभएको छ । 

गैँडाकोट नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत झबिन्द्र खनालले अग्नी नियन्त्रणका लागि सम्पूर्ण रुपमा सहयोग गर्न नगरपालिका तयार रहेको बताउनुभएको छ । उहाँले नगरभित्र वन ऐन बनाउन खाका बनाउने काम भइरहेको र केही समयमा वन ऐन बन्ने पनि जानकारी दिनुभयो । 

सामुदायिक वन उपभोक्ता महासंघ नेपाल, स्थानीय महासंघ गैँडाकोटका अध्यक्ष निर्मला कँडेलले अग्नि नियन्त्रणका लागि सबै सजग हुनुपर्नेमा जोड दिनुभएको छ । 

सव डिभिजन वन कार्यलय गैँडाकोटका फरेष्टर दिनेश केसीले पानी परेका कारण हाल वनमा कुनै समस्या नदेखिएको बताउँदै आगामी दिनमा जोखीम भने उच्च रहेको बताउनुभयो । उहाँले सबै सामुदायिक वनलाई अग्नि रेखा नियन्त्रणदेखी अन्य पूर्व तयारी गर्न पनि आग्रह गर्नुभएको छ । 

कार्यक्रममा शुभकामना मन्तव्य राख्दै सामुदायिक वन उपभोक्ता महासंघ गण्डकी प्रदेशका प्रथम उपाध्यक्ष खगराज सापकोटा, शंखदेवी सामुदायिक वनका अध्यक्ष सिता सापकोटा, नन्दन सामुदायिक वनका अध्यक्ष बालकृष्ण गौडेल, गैँडाकोट नगरपालिकाको न्यायिक समिति सदस्य द्रोणवन सन्न्यासी लगायतले सामुदायिक वनमा अग्नि नियन्त्रणमा जाने उपभोक्ताको स्वास्थ्य विमा, गैँडाकोटमा वन ऐन र करको विषयमा स्थानीय सरकारले ध्यान दिनुपर्ने बताएका थिए । 

सामुदायिक वन उपभोक्ता महासंघ नेपाल, स्थानीय महासंघ गैँडाकोटका उपाध्यक्ष यदु निउरेले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रमको सहजिकरण महसंघका सचिव हिरालाल सापकोटाले सहजिकरण गर्नुभएको थियो । 


कार्यक्रममा गैँडाकोट नगरपालिका भित्र रहेका सामुदायिक वनमा प्रतिनिधीहरुको सहभागिता रहेको थियो ।