पूर्वडीआईजी खरेलले दिए रास्वपाबाट राजीनामा

२०८० चैत १४ बुधबार १७:१२:०० मा प्रकाशित

काठमाडौं–पूर्वडीआईजी रमेश खरेलले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट राजीनामा दिनुभएको छ । 

पार्टी सभापति रवि लामिछानेविरुद्ध अभिव्यक्ति दिएको विषयमा रास्वपाको अनुशासन आयोगले उहाँलाई लिखित जवाफ मागेपछि उहाँले जवाफको सट्टा बुधबार राजीनामा नै पठाउनुभएको हो । स्वार्थको द्वन्द्वको बाझिने गरी सभापति रवि लामिछाने गृहमन्त्री भएकोमा असमझदारी जनाउँदै पार्टी परित्याग गरेको उहाँको भनाइ छ ।

गत वैशाख १० मा भएको उपचुनावमा रास्वपामा जोडिनुभएका खरेल रास्वपाबाट बारा–२ मा उपचुनाव लड्नुभएको थियो, तर जनता समाजवादी पार्टी (जसपा)का उपेन्द्र यादवसँग पराजित हुनुभएको थियो । खरेल रास्वपाको कुनै जिम्मेवारी पदमा नभए पनि बाराको उपनिर्वाचनमा पराजित भएपछि निष्क्रिय हुनुभएको थियो । 

केन्द्रीय सदस्य प्रस्ताव अस्वीकार गरेपछि उहाँ पार्टीमा निष्क्रियजस्तै बस्नुभएको थियो । तर सभापतिको आलोचना भएपछि उहाँलाई अनुशासन समितिले सोधको स्पष्टीकरणको जवाफ नदिइ राजीनामा दिनुभएको हो ।