विकू बचतको शिक्षामा लगानी, ४२ जना विद्यार्थीलाई छात्रवृत्ति प्रदान

२०८१ बैशाख ८ शनिबार १५:३९:०० मा प्रकाशित


गैँडाकोट । विकू बचत तथा ऋण सहकारी संस्थाले चितवन नवलपुरका गरी ४२ जना विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको छ ।

शनिवार विकू दिर्घकालिन छात्रवृत्ति प्रदान समारोह–२०८१ का बिच २४ वटा सेवा केन्द्रका ४२ जनालाई विद्यालय पोसाक, जुत्ता र भर्ना शुल्क सहित स्टेशनरी सामग्री छात्रवृत्ति प्रदान गरिएको हो । 

विकूले विगत १० वर्षदेखी दिर्घकालिन छात्रवृत्ति प्रदान गर्दै आएको संस्थाका कार्यकारी अधिकृत माधव पौडेलले जानकारी दिनुभयो ।  

नर्सरीदेखी कक्षा ५ सम्म अध्ययनरत विपन्न तथा जेहेन्दार विद्यार्थी छनोट गरी कक्षा १० सम्म निरन्तर छात्रवृत्ति प्रदान गर्ने गरेको छ । अघिल्लो वर्ष ५३ जनालाई छात्रवृत्ति प्रदान गरेको विकूले यसवर्ष ३१ वटा सामुदायिक विद्यालयमा अध्ययनरत ४२ जनालाई छात्रवृत्ति प्रदान गरेको विकू बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष प्रेम सापकोटा ‘राजु’ ले जानकारी दिनुभयो । 

विकूले प्रदान गर्ने छात्रवृत्तिका कारण विद्यार्थीहरुमा सकारात्मक उर्जा भरिएको छ । जनता मावि सहिदनगर डण्डाको कक्षा ९ मा अध्ययनरत दिपिका ढकालले छात्रवृत्तिका कारण पढाई प्रति रुची र लगनशिल भएर अगाडी बढ्ने उत्प्रेरणा बढेको अनुभव सुनाउनुभयो । 

गैँडाकोट नगरपालिकाका नगरप्रमुख मदनभक्त अधिकारीले विकूको दिर्घकालिन छात्रवृत्ति कार्यक्रम प्रशंसा योग्य रहेको बताउँदै यसलाई आगामी दिनमा पनि निरन्तरता दिन आग्रह गर्नुभएको छ । गैँडाकोट भित्र रहेका विद्यालयमा नैतिक शिक्षा पनि सुरु गर्ने सवालमा छलफल गर्ने उहाँको भनाई छ । 

संस्थाका निर्वतमान अध्यक्ष ओमप्रसाद सापकोटाले १ लाख ३० हजार बढी सदस्य भएको संस्थाले वित्तीय मात्र नभई सेयर सदस्यसँग प्रत्यक्ष रुपमा ठोकिने गैर वित्तीय क्षेत्रमा पनि काम गर्नुपर्छ भन्ने उद्देश्यले यस्ता कार्यक्रम सञ्चालन गर्ने गरेको बताउनुभयो । 

त्यस्तै विकूका संस्थापक अध्यक्ष खेमराज सापकोटाले शिक्षा जीवनको सबैभन्दा महत्त्वपूर्ण कुरा भएका कारण यसलाई कसरी सर्वसुलभ तरिकाले सबैसम्म पु¥याउन सकिन्छ भन्ने विषयमा सबैले सोच्न आवश्यक रहेको बताउनुभएको छ । शिक्षालाई सबैको पहुँचमा पु¥याउनका लागि विकूले एउटा ईट्टा थप्ने काम गरेको उहाँको भनाई छ ।

विकूका पूर्व अध्यक्ष एवं नेफस्कुनका केन्द्रीय लेखा सुपरीवेक्षण समिति संयोजक इन्द्रराज ज्योति पौडेलले संस्था शेयर सदस्यसँग मात्र नभइ शेयर सदस्यका छोराछोरीसँग पनि शिक्षाको माध्यमबाट शु–सम्बन्ध विकास गर्नुपर्छ भन्ने उद्देश्यले छात्रवृत्ती कार्यक्रम सञ्चालन गर्दै आएको बताउनुभयो ।

विकूका लेखा सुपरीवेक्षण समिति संयोजक कमल सुवेदीले विकूले वित्तीय काम मात्र नभई समाज रुपान्तरणका लागि धेरै काम गर्दै आएको बताउँदै बालबालिकालाई असल नागरिक बनाउन अभिभावकको पनि महत्त्वपूर्ण भूमिका हुने भएका कारण बालबालिकालाई घर भित्र नै संस्कारका कुरा पनि सिकाउन अनुरोध गर्नु भएको छ । 


कार्यक्रममा विजय सामुदायिक सुचना तथा सञ्चार सहकारी संस्थाका अध्यक्ष त्रिलोचन सापकोटा, विकूको दियालो सेवा केन्द्रका संयोजक पूर्णबहादुर श्रेष्ठ, अभिभावक, विभिन्न सेवा केन्द्रका संयोजक, कर्मचारी लगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रममा स्वागत मन्तव्य राख्दै संस्थाका उपाध्यक्ष कालिदास गौडेलले आर्थिक अभावका कारण विकूको सदस्यका बालबालिका शिक्षाको ज्योतिबाट बञ्चित नहुन भनेर यस्ता कार्यक्रम सञ्चालन गरिएको बताउनुभयो ।