गैँडाकोटका बोर्डिङ विद्यालयको शुल्क तोकियो

२०८१ बैशाख ८ शनिबार १८:१२:०० मा प्रकाशित

गैँडाकोट । गैँडाकोट नगरपालिकामा रहेका संस्थागत (बोर्डिङ) विद्यालयहरुको शुल्क निर्धारण गरिएको छ । 

शिक्षा शाखाको समन्वयमा गैँडाकोट नगर शिक्षा समितिको गत चैत्र २८ गतेको बैठकले सो शुल्क निर्धारण गरेको थियो । उक्त शुल्क प्रस्ताव नगर शिक्षा समितिले नगर कार्यपालिकामा पेश गरेको थियो । चैत्र २९ गते बसेको गैंडाकोट नगरपालिकाको आर्थिक वर्ष २०८०/०८१ को १४ औँ नगर कार्यपालिका बैठकले शुल्क निर्धारण सम्बन्धी एकमात्र निर्णय गरेको थियो । 

समितिबाट सिफारिस भए बमोजिम कार्यपालिकाले नगर भित्रका संस्थागत विद्यालयहरुमा शैक्षिक सत्र २०८१ को लागि उक्त शुल्क लिन स्वीकृति दिने निर्णय गरेको कार्यपालिका सदस्य सचिव एवं प्रमुख प्रशासकीय अधिकृत झबिन्द्र खनालले जानकारी दिनुभयो । 

जस अनुरुप संस्थागत विद्यालयले लिने शुल्क कक्षा तथा तहगत र अधिकतम रकम (ग श्रेणीको विद्यालयको लागि) भनि तोकिएको छ । 

पूर्व प्राथमिक (कक्षा ०) एउटा सेक्सन/कक्षामा विद्यार्थीको औसत संख्या ३० जना हुनुपर्नेछ । उक्त कक्षाका लागि (नर्सरीसम्म) अधिकतम मासिक शुल्क २ हजार ३ सय ८ रुपैयाँ तोकिएको छ ।  

प्राथमिक (कक्षा १ देखी ५) सम्म एउटा सेक्सन/कक्षामा विद्यार्थीको औसत संख्या ३३ जना हुनुपर्नेछ । उक्त कक्षाका लागि अधिकतम मासिक शुल्क २ हजार ८ सय ७५ रुपैयाँ तोकिएको छ र प्रत्येक माथिल्लो कक्षामा ५० रुपैयाँ वृद्धि हुदै जान सक्नेछ । 

निम्न माध्यमिक (कक्षा ६ देखी ८) सम्म एउटा सेक्सन/कक्षामा विद्यार्थीको औसत संख्या ३३ जना हुनुपर्नेछ । उक्त कक्षाका लागि अधिकतम मासिक शुल्क ३ हजार १ सय २७ रुपैयाँ तोकिएको छ र प्रत्येक माथिल्लो कक्षामा १०० रुपैयाँ वृद्धि गर्दै लिन सक्ने छन् । 

माध्यमिक (कक्षा ९ देखी १०) सम्म एउटा सेक्सन/कक्षामा विद्यार्थीको औसत संख्या ३३ जना हुनुपर्नेछ । उक्त कक्षाका लागि अधिकतम मासिक शुल्क ३ हजार ९ सय ३४ रुपैयाँ तोकिएको छ र प्रत्येक माथिल्लो कक्षामा १५० रुपैयाँ वृद्धि हुदै जान सक्नेछ । 

माध्यमिक (कक्षा ११ देखी १२) सम्म एउटा सेक्सन/कक्षामा विद्यार्थीको औसत संख्या ४० जना हुनुपर्नेछ । उक्त कक्षाका लागि अधिकतम मासिक शुल्क ४ हजार ५ सय २५ रुपैयाँ तोकिएको छ र प्रत्येक माथिल्लो कक्षामा २०० रुपैयाँ वृद्धि हुदै जान सक्नेछ । 

उक्त शुल्क ‘ग’ श्रेणीको विद्यालयका लागि हो । यसअघि घोषणा गरिएकोमा ‘ग’ श्रेणीमा गैँडाकोटका ९ वटा विद्यालय वर्गीकरणमा परेका छन् । 

‘ग’ श्रेणीमा हुनेमा सरस्वती बालशिक्षा सदन, शिशु निकेतन स्कूल, एभरग्रीन एकेडमी, निर्मल मिलिनियम इङ्गलिस बोर्डिङ स्कूल, त्रिमूर्ती विद्या मन्दिर, ज्ञानकुञ्ज इङ्गलिस बोर्डिङ स्कूल, किड्सहोम एकेडेमी, अमर इङ्गलिस बोर्डिङ स्कूल र युनिक इङ्गलिस बोर्डिङ स्कूल रहेका छन् । 

‘ख’ श्रेणीका विद्यालयका हकमा मासिक शुल्क माथि उल्लेख गरेको शुल्कमा बढीमा १५% थप गरी शुल्क निर्धारण गर्न सक्नेछन् । गैँडाकोटका १० वटा विद्यालय ‘ख’ श्रेणीमा परेका थिए । 

नगरपालिकाले सार्वजनिक गरेको वर्गीकरण अनुसार ‘ख’ श्रेणीमा सरस्वती निकेतन इङ्गलिस  बोर्डिङ स्कूल, बालविकास इङ्गलिस बोर्डिङ स्कूल, कन्टीनेन्टल इङ्गलिस बोर्डिङ स्कूल, गैँडाकोट नमुना इङ्गलिस बोर्डिङ स्कूल, स्मल हर्ट इङ्गलिस बोर्डिङ स्कूल, शाइनिङ इङ्गलिस बोर्डिङ स्कूल, विजय सामुदायिक शिक्षा सदन, मुकुन्दसेन इङ्गलिस बोर्डिङ स्कूल, सूर्योदय विद्या मन्दिर र अक्सफोर्ड सेकेन्डरी स्कूल रहेका छन् । 

त्यसैगरी ‘क’ श्रेणीका विद्यालयले ‘ख’ श्रेणीका विद्यालयका विद्यालयको भन्दा थप १५% रकम सम्म थप गरी शुल्क निर्धारण गर्न सक्नेछन् । गैँडाकोटमा ‘क’ श्रेणीमा एउटा मात्रै विद्यालय रहेको छ । गैँडाकोट इङ्गलिस स्कूल नगरपालिकामा रहेका २० संस्थागत विद्यालय मध्ये एकमात्र ‘क’ श्रेणीमा पर्न सफल विद्यालय हो । 

गैँडाकोट नगरपालिका शिक्षा, युवा तथा खेलकुद शाखाले गठन गरेको बिज्ञ टोलिले गरेको मूल्याङ्कनका आधारमा उक्त घोषणा गरिएको थियो । 
‘घ’ श्रेणीमा भने कुनै विद्यालय परेका छैनन् । 

त्यसैगरी मासिक शुल्क बाहेक अन्य शुल्कहरु पनि निर्धारण गरिएको छ । 

मासिक शुल्क १ वर्षमा १२ महिनाको स्वीकृत मासिक शुल्क भनि अधिकतम सिमा तोकिएको छ । भर्ना शुल्क भने भर्ना हुँदा विद्यालयको जुन कक्षामा भर्ना हुने हो एक पटक एक महिनाको मासिक शुल्क बराबर मात्रै लिनुपर्ने उल्लेख छ । 

परीक्षा शुल्क एक वर्षमा एक महिनाको मासिक शुल्क बराबर मात्रै लिन पाइने छ । शैक्षिक सामग्री एक वर्षमा एक पटक मासिक शुल्कको १०% बराबर मात्रै लिनुपर्नेछ । वार्षिक शुल्क प्रत्येक वर्ष दुई महिनाको शुल्क बराबर तिर्नुपर्नेछ । 

यदि स्थानान्तरण प्रमाणपत्र लिनुपर्ने भए एक महिनाको मासिक शुल्क बराबर मात्रै लिन पाइनेछ । 

पानी, बिजुली, टेलिफोन, इन्टरनेट, एक वर्षमा एक पटक मासिक शुल्कको २०% भन्दा बढी नहुने गरी लिन पाइने गरी तोकिएको छ । 

विशेष प्रशिक्षण तथा कम्प्युटर सेवा, परिवहन सेवा (गाडी) र भोजन सेवाका सम्बन्धमा भने उपभोग गर्ने अभिभावक र विद्यालयको सहमतिमा निर्धारण गर्ने उल्लेख गरिएको छ । 
धरौटी (फिर्ता हुने गरी) एक वर्षमा ६ महिनाको मासिक शुल्क बराबर लिन पाइने छ । अन्तरविद्यालय प्रतियोगिता एक वर्षमा एक पटक (अनिवार्य रुपमा कार्यक्रम सञ्चालन गर्नुपर्ने छ । सो वापत एक मासिक शुल्कको ३ प्रतिशत बराबर मात्रै लिन पाइने छ । 

शैक्षिक भ्रमण (राष्ट्रिय, अन्तर्राष्ट्रिय) सेवा उपभोग गर्ने विद्यार्थीका अभिभावक र विद्यालयको सहमतिमा निर्धारण गर्ने उल्लेख छ । इन्स्योरेन्श (मान्यता प्राप्त संस्थामा हुनु पर्ने) वर्षमा एक पटक एक मासिक शुल्कको बढीमा १०% बराबर लिन पाइने छ । 

प्रवेश परीक्षा वापत बढीमा १०० रुपैयाँ र फारम वापत २५ रुपैयाँ सम्म लिन पाइने छ । उक्त शुल्क स्थानन्तरण पत्र लिएर आउनेका लागि मात्रै हो ।