गैँडाकोट ५ का टोल विकास र महिला समूहका पदाधिकारीहरु लक्षित उद्घोषण तालिम सुरु

२०८१ बैशाख ११ मंगलबार १५:०१:०० मा प्रकाशित

गैँडाकोट । गैँडाकोट नगरपालिका वडा नम्बर ५ को आयोजनामा आजदेखी उद्घोषण तालिम सुरु भएको छ । सहमति संस्थाको सभाहलमा वडाका टोल विकास संस्था तथा महिला समूहका पदाधिकारीहरुको क्षमता अभिवृद्धिका लागि उद्घोषण तालिम सुरु भएको हो । 

तालिमको उद्घाटन सत्रमा बोल्दै गैँडाकोट नगरपालिका वडा नम्बर ५ का वडा अध्यक्ष रत्नप्रसाद सापकोटाले तालिमले टोल विकास संस्था तथा महिला समूहका पदाधिकारीहरुको क्षमता विकास हुने विश्वास व्यक्त गर्नुभयो । साथै उहाँले वडाबासीसँग सहकार्यगर्दै वडाको विकासमा हातेमालो गर्ने बताउनुभयो । उहाँले सिकेका कुरालाई व्यवहारत कार्यान्वयनमा ल्याउन आग्रह समेत गर्नुभयो ।

नगर कार्यपालिका सदस्य शान्ति न्यौपानेले वडाका महिलाहरुको क्षमता विकासमा वडा कार्यालयले विविध कार्यक्रम सञ्चालन गर्ने गरेको बताउनुभयो । उहाँले चुप लागेर बसेकै कारण महिला दिदिबहिनीहरु पछि परेको बताउँदै अग्रसरता लिनुपर्नेमा जोड दिनुभयो । 

तालिमको पहिलो दिन सामुदायिक रेडियो विजय एफएम १०१.६ का स्टेशन म्यानेजर श्रीधर उपाध्याय र सहायक स्टेशन म्यानेजर प्रेम क्षेत्रीले नेतृत्व विकास तथा उद्घोषण कला सम्बन्धी प्रशिक्षण दिनुभएको थियो । 

तालिममा वडाका १० वटा टोल विकास संस्था र सोही टोलका महिला समूहका ३ जनाका दरले गरी ३ दर्जन बढीको उपस्थिति रहेको छ । पहिलो चरणमा ३ दिन सम्म तालिम चल्ने छ । उद्घोषण तालिमको दोस्रो चरणमा वडाका बाँकी ९ वटा टोल विकास संस्था र सोही टोलका महिला समूहका ३ जनाका दरले गरी ३ दिनसम्म तालिम प्रदान गरिने छ ।