गैँडाकोटका सामुदायिक विद्यालयको लेखा परीक्षण गरिदैँ

२०८१ श्रावण १६ बुधबार १८:२३:०० मा प्रकाशित

गैँडाकोट । गैँडाकोट नगरपालिका भित्रका सबै प्रकारका सामुदायिक विद्यालयहरु, सामुदायिक अध्ययन केन्द्रहरुको लेखा परीक्षण गर्न लेखा परीक्षकको आह्वान गरिएको छ ।

आर्थिक वर्ष २०८०/०८१ को अन्तिम लेखापरीक्षण गराउन नेपाल चाटर्ड एकाउन्टेन्ट संस्थामा आवद्ध भएका प्रचलित कानुन अनुसार लेखापरीक्षण गर्न अनुमति पाएका लेखापरीक्षक आह्वान गरिएको हो ।  

नगर शिक्षा अधिकारी डा. बालकृष्ण चापागाइले अन्तिम लेखापरीक्षण गराउन इच्छुक लेखापरीक्षकलाई नियमानुसार आशयपत्र पेश गर्न आह्वान गर्नुभयो । 

प्रत्येक आर्थिक वर्ष नगरपालिकाले खटाएको अधिकार प्राप्त लेखापरीक्षकबाट विद्यालयको आर्थिक कारोबारको लेखा परीक्षण गराई नगरपालिकामा प्रतिवेदन पेश गर्नुपर्ने प्रावधान रहेको छ । 

विद्यालयको लेखा परीक्षण गर्दा सामाजिक परीक्षण गराईएको प्रतिवेदन अनिवार्य रुपमा लेखा परिक्षक समक्ष पेश गर्नुपर्नेछ । विद्यालयको सामाजिक परीक्षण नगरि लेखा परीक्षण गर्दै आएको समेत पाउने गरेको र सामाजिक परीक्षण गरेपनि कर्मकाण्डका मात्र हुने गरेको आरोप लाग्ने गरेको छ । 

आय व्यय अर्थात आम्दानी र खर्चका बारेमा विद्यालयले लेखा प्रतिवेदन बुझाएपनि खासै सार्वजनिक गरेको पाईदैँन ।