मतदानमार्फत सरस्वती निकेतनमा विद्यार्थी नेता र उपनेता चयन 

२०८१ श्रावण २४ बिहीबार १८:०३:०० मा प्रकाशित

गैँडाकोट । अन्य दिनको तुलनामा बिहीबार सरस्वती निकेतन आवासीय माध्यमिक विद्यालयमा छुट्टै रौनक थियो । स्थानीय तथा संसदीय निर्वाचनको झल्को दिनेगरी विद्यार्थीहरु मतदान प्रक्रियामा सामेल थिए । गैँडाकोट १ स्थित विद्यालयमा कप्तान र उप कप्तान निर्वाचन मार्फत चयन गरिएको छ ।

मतदानमार्फत विद्यार्थी नेता र उप नेता चयन गरिएको एवं यसबाट विद्यार्थीले निर्वाचनको अभ्यास गर्न पाएको बताएका थिए । कक्षा ९ देखी कक्षा १२ सम्मका २७२ विद्यार्थी मतदाताका रुपमा रहेका थिए । विद्यालयको एनसिसि टिमका विद्यार्थीले नै सुरक्षाकर्मीको भूमिका निर्वाह गरेका थिए । 

प्रमुख निर्वाचन आयुक्तको भूमिकामा विद्यालयका मावि तह प्रमुख सामाजिक शिक्षक रामकृष्ण कोईराला हुनुहुन्थ्यो । निर्वाचन आयुक्तमा प्लस टु कोअर्डिनेटर कमल तिवारी, अनुशासन विभाग प्रमुख विकास श्रेष्ठ, इसिए कोअर्डिनेटर सुरज भण्डारी, शिक्षकहरु राजेन्द्र रेग्मी, सरिता आचार्य, तुलसीप्रसाद सापकोटा हुनुहुन्थ्यो । 

पर्यवेक्षकमा प्राचार्य भरतबाबु कँडेल, सहायक प्राचार्य लक्ष्मण कँडेल, एकेडेमिक कोर्डिनेटर कपिल लामिछाने रहनुभएको थियो । 

कप्तानका लागि ५ जना विद्यार्थीको उम्मेदवारी थियो । पूजा बानियाँ, सदिक्षा ढकाल, सन्देश सापकोटा र दिपक दाहालको उम्मेदवारी थियो । 

उप कप्तानका लागि ६ जना विद्यार्थीले उम्मेदवारी दिएका थिए । दिवश क्षेत्री, सलिना विश्वकर्मा, ऋतु शर्मा, अर्पित भुषाल, तारा थापा र प्रशंसा तिमिल्सेनाले उम्मेदवारी दर्ता गराएका थिए । 

उनीहरुलाई मार्कर, क्यामेरा, माउस, हेडफोन, माइक, झोला, फोन, प्रोजेक्टर र डस्टर जस्ता चुनाव चिन्ह प्रदान गरिएको थियो । 

उम्मेदवारी दिएका उनीहरुले यसअघि नै सबै कक्षा कोठामा गएर आफ्ना एजेण्डा, आफुलाई विजयी गराउनुका कारणसहित विद्यार्थीहरुसँग भोट मागेका थिए ।

बिहीबार भएको मतदानबाट कप्तानमा सन्देश सापकोटा ११६ मत र उप कप्तानमा अर्पित भुषाल ७१ मत सहित निर्वाचित भएका छन् । 

लोकतान्त्रिक निर्वाचनको अभ्यास पनि हुने र विद्यार्थी नेतृत्व पनि चयन हुने भएकोले निर्वाचन विधि अपनाईएको विद्यालयका प्रधानाध्यापक भरतबाबु कँडेलले जानकारी दिनुभयो ।