विवाह वर्ष उत्सवको खर्च कटौती गरेर विद्यालयलाई सहयोग

नवलपरासी पूर्व । गैँडाकोट वाड नं. ११ निवाशी एवं समाजिक व्यक्ति पार्वती खरेलले विवाह वर्ष उत्सव (म्यारिज एनिभर्सरी) को अवसरमा सामुदायिक विद्यालयमा सहयोग गर्नुभएको छ । गैँडाकोट ११ मा नै रहेको कुमारवर्ती आधारभूत विद्यालयमा विवाह उत्सवमा हुने खर्च कटौती गरि विद्यालयमा सहयोग गर्नुभएको हो । खरेल दम्पत्तीले विद्यालयको शैक्षिक अवस्था सुधार होस् भन्ने उद्देश्यले १५० जना विद्यार्थीहरुलाई स्टेशनरी, विद्यालयलाई एकथान पङखा, विद्यार्थीहरुलाई दिवा खाजामा सहयोग गर्नुभएको छ । सामाजिक व्यक्ति खरेल दम्पत्तीले यस्ता खर्च कटौती गरेर सामाजिक काममा लगाउँदै आउनुभएको छ ।
समाजसेवी खरेलले यस अघि पनि विभिन्न विद्यालयमा सहयोग गर्दै आउनुभएको छ । समाजमा अन्य व्यक्तिहरुका लागि पनि अनुकरणयोग्य काम गरेको भन्दै विद्यालयका प्रधानाध्यापक गोविन्द आचार्यले धन्यवाद ज्ञापन गर्नुभएको छ । संस्कार तथा खुसी साटासाट गर्ने कर्महरुलाई सत्कर्ममा परिवर्तन गर्नु राम्रो काम भएको विद्यालय परिवारले जनाएको छ ।
कार्यक्रममा भेडाबारी सामुदायिक वनका अध्यक्ष क्याप्टेन बीरबहादुर शाही, वडाअध्यक्षहरु, गैँडाकोट ११ का वडा सचिव, टोलविकास संस्थाका अध्यक्षहरु, विद्यालय व्यवस्थापन समिति, गैँडाकोट नगरअस्पतालका समितिका व्यक्तिहरु लगायतको उपस्थिति रहेको थियो । समाजसेवी पार्वती खरेल वि.सं. २०६३ सालमा खेमप्रसाद खरेलसँग विवाह बन्धनमा बाँधिनुभएको थियो । सामाजिक कार्यमा रुचि राख्ने स्वभावकी खरेल विभिन्न संघसंस्थामा आवद्ध रहनुभएको छ ।