पठन संस्कृति अभियानको १२ औँ शृङ्खला भोली हुँदै 

२०८१ चैत २८ शुक्रबार १८:०३:०० मा प्रकाशित



गैँडाकोट । पठन संस्कृति अभियानको १२ औँ शृङ्खला भोली हुँदैछ । विजय एफएम १०१.६ ले आयोजना गरेको पठन संस्कृति अभियानको १२ औँ शृंखलामा प्राध्यापक डाक्टर सूर्यकान्त घिमिरे प्रमुख वक्ताको रुपमा रहनुहुनेछ । शनिबार विहान बिहान ११ बजे विजय विकास स्रोत केन्द्रकोे तालिम हलमा कार्यक्रम हुनेछ । 


प्रा.डा. सूर्यकान्त घिमिरेले कृषिका क्षेत्रमा विभिन्न खोज तथा अन्वेषण गर्नुभएको छ । कृषि क्षेत्रमा दख्खल राख्ने प्राध्यापक डाक्टर घिमिरे राजनीतिक तथा सामाजिक क्षेत्रमा पनि परिचित हुनुहुन्छ ।  


डा. सूर्यकान्त घिमिरे चितवनको रामपुरमा अवस्थित कृषि तथा वन विज्ञान विश्वविद्यालयसँग सम्बद्ध एक प्रतिष्ठित शिक्षाविद् र प्रशासक हुनुहुन्छ । उहाँ विश्वविद्यालयका संस्थापक रजिष्ट्रार हुनुहुन्थ्यो र लामो समयदेखि कृषि शिक्षण, अनुसन्धान, र प्रशासनमा सक्रिय रहनुभएको छ । जापानको ओकायमा विश्वविद्यालयबाट एमएस्सी एजी र अणुवांशिक विषयमा विद्यावारिधि गर्नुभएको थियो । 


वि.सं. २०४७ सालदेखि कृषि क्याम्पस रामपुरमा प्राध्यापन गर्दै आउनुभएको थियो । वि.सं. २०७३ मा भरतपुर महानगरपालिकाको मेयर पदका लागि उम्मेदवारी दिन विश्वविद्यालयको प्राध्यापक पदबाट राजीनामा समेत दिनुभएको थियो । पञ्चायतकालमा राजनीतिक गतिविधिका कारण झन्डै एक वर्ष जेल जीवन बिताउनु परेको थियो


सामुदायिक रेडियो विजय एफएम १०१.६ को आयोजनामा भइरहेको कार्यक्रमले समुदायमा पठन संस्कृतिको विकास गराउन मद्दत गरेको विजय एफएमका अध्यक्ष त्रिलोचन सापकोटाले जानकारी दिनुभयो । गत वैशाख १५ गतेबाट पठन संस्कृति अभियान सुरु भएको थियो ।