चितवनमा दुई मोटरसाइकल एकआपसमा ठोक्किँदा दुई चालकको मृत्यु, तीन जना घाइते
2025-04-19-02-35-03.jpeg)
चितवन । भरतपुर महानगरपालिका वडा नं-२५, छाता चोकमा दुई मोटरसाइकल एकआपसमा ठोक्किँदा दुई चालकको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् ।
बुद्धनगरबाट अमृत चोकतर्फ गइरहेको ना ५१ प २०४० नम्बरको मोटरसाइकल र देवीस्थानबाट मुख्य सडकमा निस्किँदै गरेको बागमती प्रदेश ०६-००२ प १३०४ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किदा भरतपुर-२७ निवासी ३९ वर्षीय टेकबहादुर पुलामी मगरको उपचारका क्रममा पुरानो मेडिकल कलेज भरतपुरमा र भरतपुर-२० निवासी ३५ वर्षीय विशाल भट्टराईको भरतपुर सरकारी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।
दुर्घटनामा घाइते हुनेमा २० वर्षीय सफल पौडेल, २७ वर्षीया केशरी पुलामीमगर र १७ वर्षीया सुजिता पुलामी मगर रहेका छन् । घाइतेमध्ये केशरीको अवस्था गम्भीर रहेको र उनको उपचार पुरानो मेडिकल कलेजमा भइरहेको प्रहरीले जनाएको छ। दुर्घटनामा संलग्न दुवै मोटरसाइकललाई प्रहरीले नियन्त्रणमा लिएको छ।