एच५एन१ मानव महामारी बन्ने जोखिमः बिरालाबाट सर्न सक्ने चेतावनी

२०८२ बैशाख २९ सोमबार १४:२९:०० मा प्रकाशित

काठमाडौँ । एक नयाँ अध्ययनले बर्ड फ्लू (एच५एन१) तीव्र गतिमा मानव महामारी बन्न सक्ने चेतावनी दिएको छ। बिरालाहरूमा सङ्क्रमण विश्लेषण गर्दै मानिसमा सर्ने जोखिम रहेकोले तत्काल निगरानी आवश्यक रहेको बताइएको छ।


युनिभर्सिटी अफ मेरील्यान्डका अनुसन्धानकर्ताहरूले गरेको अध्ययन इमर्जिङ इन्फेक्सियस डिजिज (२०२४, मे) मा प्रकाशित छ। सन् २००४-२०२४ को तथ्याङ्कमा १८ देशका बिरालाहरूमा ६०७ सङ्क्रमण फेला परे, जसमध्ये ३०२ को मृत्यु भयो ।


अनुसन्धानकर्ताहरूले भनेका छन्, ‘भाइरस चरादेखि बिरालासम्म र गाई-बिरालाबीच फैलिएको छ, जुन मानिसमा सर्न सक्छ।’ सङ्क्रमित बिरालाहरूमा इन्सेफेलाइटिस जस्ता गम्भीर लक्षण देखिन्छ, जसलाई प्रायः रेबीज ठानिन्छ। बर्ड फ्लूको घातक प्रकारले पाल्तु बिरालाहरूमा ९० प्रतिशत भन्दा बढी मृत्युदर देखाएको छ।

 

बिरालाहरू सङ्क्रमित चरा, दूषित काँचो मासु वा गाईको काँचो दूधबाट सङ्क्रमित हुन्छन् । तर, बिरालाहरूमा सक्रिय निगरानी नहुँदा मृत्युपछि मात्र परीक्षण हुन्छ।

 

बिरालाहरूबाट समुदायमा फैलावट पत्ता लगाउन थप अनुसन्धान चाहिन्छ। विश्वभर ९५० मानव सङ्क्रमणमध्ये आधाको मृत्यु भएको छ। पशु आश्रयहरूमा सङ्क्रमण प्रवेशले ठूलो प्रकोप निम्त्याउन सक्ने चेतावनी छ। सन् २०१६ को न्यूयोर्क प्रकोपभन्दा गम्भीर अवस्था आउन सक्छ। अध्ययनकर्ताहरूले हावाबाट मानिसमा सर्ने जोखिम रहेको बताएका छन् । एजेन्सी