बुद्धको दर्शनले हामीलाई मानवताको मार्गमा अघि बढ्न प्रेरणा दिन्छः अध्यक्ष अन्सारी

२०८२ बैशाख २९ सोमबार १४:५६:०० मा प्रकाशित

काठमाडौं । नेपाल संघीय समाजवादी पार्टीका केन्द्रीय अध्यक्ष तथा पूर्वगृह राज्यमन्त्री मोहम्मद रिजवान अन्सारीले २५६९औं बुद्ध जयन्तीको अवसरमा सम्पूर्ण नेपाली जनसमुदाय तथा विश्वभर रहेका बुद्ध अनुयायीहरूलाई शुभकामना व्यक्त गर्नुभएको छ । 


अध्यक्ष अन्सारीले शुभकामना सन्देशमार्फत भगवान गौतम बुद्धले दिनुभएको शान्ति, करुणा, अहिंसा र समभावको शिक्षालाई आजको सन्दर्भमा अझ सान्दर्भिक र आवश्यक भएको उल्लेख गर्नुभयो । “बुद्धको दर्शनले हामीलाई सहिष्णुता, समानता र मानवताको मार्गमा अघि बढ्न प्रेरणा दिने अन्सारीले बताउनुभयो ।


उहाँले वर्तमान राजनीतिक परिवेशमा प्रतिगमन तथा धार्मिक अतिवादको विरुद्ध डटेर उभिनु आवश्यक रहेको उल्लेख गर्दै, अग्रगमनको पक्षमा सशक्त रूपमा अघि बढ्न सबैलाई आह्वान गर्नुभयो । “बुद्धको शिक्षाबाट प्रेरणा लिएर हामीले सामाजिक न्याय, समावेशिता र संघीयताको मूल मर्म अनुसार थप अधिकार प्राप्तिका लागि संघर्ष जारी राख्नुपर्ने अन्सारीले बताउनुभयो ।
अध्यक्ष अन्सारीले यस अवसरमा राष्ट्रिय एकता, सामाजिक सद्भाव र समुन्नत समाज निर्माणका लागि सबै नेपालीहरूलाई एकजुट भएर अघि बढ्न आग्रह समेत गर्नुभयो ।