कालीगण्डकी सभ्यताको संरक्षण गर्न देवघाट दामोदरकुण्ड पदयात्रा गरिने

२०८२ जेठ १८ आइतबार १६:०१:०० मा प्रकाशित

कालीगण्डकी सभ्यताको संरक्षण र यस क्षेत्रको धार्मिक तथा सांस्कृतिक महत्वको प्रचारप्रसारका लागि आगामी जेठ २२ गतेदेखि देवघाटधामदेखि दामोदर कुण्डसम्मको पदयात्रा गरिने भएको छ । महेश संस्कृत गुरुकुल, देवघाटको नेतृत्वमा हुने यस ऐतिहासिक यात्रामा नेपाल तथा भारतका ५४ जना साधु–सन्तहरूको सहभागिता रहनेछ । कालीगण्डकी नदीको दुरी ४३१ किलोमिटर लम्बाइको क्षेत्रलाई समेट्ने गरी २५ दिनको पदयात्राको आयोजना गरिएको संयोजक फणीन्द्र प्रसाद पौडेलले जानकारी दिए ।

कालीगण्डकीको महत्वका साथै शालग्राम र गण्डकीतीर्थहरुको दर्शन पूजन, कालीगण्डकीको सम्भयाताको संरक्षण, धार्मिक तथा प्राकृतिक पर्यटनको प्रवर्धन गर्ने उद्देश्यले पदयात्राको आयोजना गरिएको उनले बताए । कालिगण्डकी नदीमा पर्ने देवघाधाम केलादीघाट धाम, राम्दीधाम, ऋषिकेशधाम, रुद्रवेणीधाम, सेतीवेनीधाम, मोदीबेनीधाम, गलेश्वरधाम, कागबेनीधाम, मुक्तिनाथधाम र दामोदरकुण्डधाममा विशेष पूजा एवं जागरण सभा गरिने उनले जानकारी दिए ।

कालिगण्डकी नदीको पदयात्रामा देवघाटदेखि लो–घेकर दामोदरकुण्ड गाउँपालिकामा पर्ने दामोदर कुण्डपुग्न ९ जिल्लाका १० नगरपालिका, २० गाउँपालिकाका १४९ वटा वडा पार गर्नुपर्ने हुन्छ । यस ऐतिहासिक पदयात्रामा स्थानीय तह तथा व्यक्तिगत रुपमा आवश्यक जलपान, भोजनप्रसाद र आवासको उचित प्रबन्ध मिलाई सहयोग गर्न समेत आह्वान गरिएको महेश संस्कृत गुरुकुलका अध्ययता सन्तोष गरीले जानकारी दिए । उनका अनुसार १ दिनमा २० देखि २२ किलोमिटरको यात्रा हुनेछ ।
चार हजार ९९० मिटर उचाइमा रहेको दामोदर कुण्ड पुग्नका लागि आयोजकले यात्राको भौलोलिक कठिनाइलाई समेत मुल्यांकन गरेको छ । गिरीका अनुसार २ सय ६० किलोमिटर यात्रामा मोटरबाटो पुगेको छ । त्यस्तै ७० किलोमिटरको यात्रालाई मध्यम जटिलका रुपमा हेरिएको छ । बाँकी यात्रा कठिन नै हुने अनुमान गरिएको उनले बताए । २ सय २० मिटर सामुद्रिक उचाइबाट हिमाल पुग्नुपर्ने भएकाले सोही अनुसार साधु सन्तहरुलाई तयारी रहन आह्वान गरिएको उनले बताए । प्राचीन सभ्यताको जननी मानिने कालीगण्डकी करिडोरमा पवित्र देवघाट धामदेखि मुक्तिनाथ धामसम्म रहेका छन् ।