गैँडाकोट ४ मा प्रस्तावना लेखन तालिम समापन

नवलपरासी पूर्व । वडास्तरीय महिला सञ्जाल गैँडाकोट ४ को आयोजनामा आइतबारदेखि सुरुभएको क्षमता अभिवृद्धि तथा प्रस्तावना लेखन तालिम सोमबार समापन गरिएको छ । जयश्री सामुदायिक वनको सभाहलमा भएको समापन कार्यक्रममा गैँडाकोट नगर उपप्रमुख शान्ति कोइरालाले बैठक सञ्चालन, माइन्यूट लेखन र प्रस्तावना लेखनले महिला समूहहरुलाई चलायमान बनाउन सहज हुने बताउनुभयो ।
गैँडाकोट नगरपालिका वाड नं. ४ का वडा अध्यक्ष तेजप्रसाद घिमिरेले भौतिक पूर्वाधार मात्र विकास नभइ समाजिक, मानविय विकासका आधारहरुलाई पनि परिस्कृत गर्दै लैजानुपर्ने बताउनुभयो । मानव विकासका क्षेत्रमा पनि पालिकाले काम गर्ने वडा अध्यक्ष घिमिरेले बताउनुभयो ।
गैँडाकोट नगरकार्यपालिका सदस्य एवम् वडा सदस्य शान्ता घर्तिले महिला समूहले आयोजना गर्ने कार्यक्रमका लागि बजेट माग गर्न प्रस्ताव लेखनका लागि यस तालिमले सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
तालिमका प्रशिक्षक विजय एफएमका स्टेशन म्यानेजर श्रीधर उपाध्यायले ज्ञानलाई व्यवहारमा उतारेपछि मात्रै व्यक्तिले सफलता प्राप्त गर्ने हुँदा निरन्तर अभ्यासमा जोड दिन आग्रह गर्नुभयो ।
प्रशिक्षार्थीका तर्फबाट शान्ता काप्री र इन्दिरा ढकालले सिकेका सीपलाई व्यवहारमा उतार्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
तालिममा बैठक सञ्चालन कार्यविधि निर्माण, बैठक व्यवस्थापन, माइन्यूट लेखन तथा प्रस्ताव लेखनका विषयमा सहभागिहरुको क्षमता अभिवृद्धिमा मद्दत पुगेको सञ्जालका अध्यक्ष अनिता घिमिरेले बताउनुभएको छ ।
महिला सञ्जालका सचिव शोभा घिमिरेले कार्यक्रमको सहजीकरण गर्नुभएको थियो भने अतिथिहरुलाई सञ्जालका कोषाध्यक्ष लक्ष्मी कमलीले स्वागत गर्नुभएको थियो । कार्यक्रममा वडा सदस्य इन्द्रकला घिमिरे, हरि पौडेल, धनमाया परियार, सञ्जालका सल्लाहकार कमला तिवारी, जयश्री सामुदायिक वनका अध्यक्ष भीमबहादुर कुमाल लगायतको उपस्थिति रहेको थियो ।
दुई दिनसम्म भएको तालिम जयश्री सामुदायिक वनको सभाहलमा भएको थियो । तालिममा १९ वटा महिला समूहबाट सहभागिता रहेको थियो । आइतबार भएको समुद्घाटन कार्यक्रममा गैँडाकोट नगरपालिका वाड नं. ४ का वडा अध्यक्ष तेजप्रसाद घिमिरे समुद्घाटन गर्नुभएको थियो । उद्घाटन कार्यक्रममा टोलनाथ घिमिरे, सल्लाहकार कमला तिवारी, सल्लाहकार संगिता घिमिरेले प्रस्ताव लेखनमा अभ्यस्त बन्न शुभकामना दिनुभएको थियो ।