पश्चिमी, स्थानीय र मनसुनी वायुको प्रभाव- कोशी र मधेस प्रदेशमा धेरै वर्षाको सम्भावना

२०८२ जेठ २१ बुधबार ०८:०४:०० मा प्रकाशित

काठमाडौँ । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशको पश्चिम र मध्य भूभागमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ भने कोशी प्रदेशका अधिकांश भूभागमा मनसुनी वायुको प्रभाव रहेको छ। जसको प्रभावले हाल देशभर आंशिकदेखि साधरणतया बदली रहेको छ । कोशी, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशको एक-दुई स्थानमा हल्का वर्षा भइरहेको छ । मनसुन कोशी प्रदेशका अधिकांश भूभागमा विस्तार भएको छ।

 

आज दिउसो देशभर आंशिकदेखि साधरणतया बदली रहनेछ। कोशी, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको केही स्थानहरू र बाँकी प्रदेशका थोरै स्थानहरूमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ भने कोशी प्रदेशका एक-दुई स्थानमा धेरै वर्षाको सम्भावना रहेको छ। देशको उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरूमा हल्का वर्षासहित हिमपातको सम्भावना रहेको छ।


आज राति कोशी, मधेस  र  बागमती प्रदेशका केही स्थानहरूमा, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी पहाडी भूभागको एक-दुई स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी प्रदेश र मधेस प्रदेशका एक-दुई स्थानमा धेरै वर्षाको सम्भावना रहेकोले दैनिक जनजीवन, कृषि, स्वास्थ्य, सडक तथा हवाई यातायातमा प्रभाव पर्न सक्ने हुँदा आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।