चितवनमा एक महिनामा २ सय ९४ लिटर घरेलु मदिरा बरामद

चितवन । चितवनमा २ सय ९४ लिटर घरेलु मदिरा बरामद गरिएको छ । जिल्लाका विभिन्न स्थानबाट एक महिनाको अवधिमा सो परिमाणको घरेलु मदिरा बरामद गरिएको चितवन प्रहरीले जनाएको छ ।
यस्तै, यात्रुहरुको झोला गुन्टा तान्ने, जबरजस्ती गाडीमा चढाउने, मनपरी भाडा उठाउने, दुख हैरानी दिने ११६ जनालाई नियन्त्रणमा लिएर सचेत गराइएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी प्रमुख गोविन्द पुरीले जानकारी दिनुभयो । यो अवधिमा मोटरसाइकलको स्वरुप परिवर्तन गर्ने ६६ वटा मोटरसाइकल र चालकलाई नियन्त्रणमा लिइएको छ । उनीहरुबाट ७ लाख ६८ हजार रुपैयाँ राजश्व असुल समेत गरिएको प्रहरी प्रमुख गिरीले जानकारी दिनुभएको छ ।
एक महिनाको अवधिमा एक हजार ४ सय ४७ जनाले ट्राफिक नियम उल्लंगन गरेका छन् भने उनीहरुबाट १७ लाख ३४ हजार ५ सय रुपैयाँ राजश्व संकलन गरिएको छ । २८ वर्ष ८ महिना ११ दिन कैद सजाय र १० लाख ३७ हजार ३ सय ४५ रकम भएको १३० जना फरार प्रतिवादी पक्राउ गरी चितवन जिल्ला अदालतमा उपस्थित गराइएको छ । समुदाय साझेदारीतर्फ एक युनिट एक दिन कार्यक्रम सञ्चालन समेत गरेको प्रहरीले जानकारी दिएको छ । आगामी दिनमा विपद प्रतिकार्य योजना तथा जनशक्ति परिचालन, उद्दार एवं राहत सामाग्री व्यवस्थापन सरोकारवालासंग थप समन्वय, समुदाय प्रहरी साझेदारी कार्यक्रम सञ्चालन गरिने प्रहरी प्रमुख गिरीले बताउनुभएको छ ।