गैंडाकोट नगरपालिकाद्धारा ६३ जना बालबालिकाहरूलाई शैक्षिक सामग्री वितरण

२०८२ जेठ २३ शुक्रबार १३:२९:०० मा प्रकाशित

गैंडाकोट । गैंडाकोट नगरपालिकाले सामुदायिक विद्यालयमा अध्ययन गर्ने विपन्न परिवारका अपाङ्गता भएका बालबालिकाहरू र अपाङ्गता भएका परिवारका बालबालिकाहरूलाई शैक्षिक सामग्री वितरण गरेको छ। शुक्रबार नगरपालिकाको परिसरमा एक कार्यक्रम गरी शैक्षिक सामग्री वितरण गरेको हो। नगरपालिकाका नगरप्रमुख मदनभक्त अधिकारीले अध्ययन गर्न पाउने सबै बालबालिकाको अधिकार भएकाले शैक्षिक सामग्री वितरण गरिएको  बताउनुभयो। नगरपालिकाले कक्षा १ देखि ५ सम्म निःशुल्क पढ्न पाउने वातावरण सिर्जना गरेको र अब कक्षा ८ सम्म पनि निःशुल्क पढ्न पाउने वातावरण सिर्जना गर्ने तयारी गरिरहेको उहाँले बताउनुभयो।
यस्तै गैंडाकोट नगरपालिकाका उपप्रमुख शान्ति कोइरालाले हरेक बालबालिकाको लागि नगरपालिका साथमै रहेको बताउनुभएको छ। उहाँले अपाङ्गता भएका बालबालिकाका लागि र विपन्न परिवारका बालबालिकाका लागि शिक्षामा सहज होस भनेर नगरपालिकाले काम गर्दै आएको जानकारी गराउनु भएको छ साथै उहाँले नगरपालिकाबाट सक्दो काम गर्ने र सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
गैंडाकोट नगरपालिकाका वडा नम्बर १ देखि १८ वडाका २२ वटा विद्यालयका ६३ जना बालबालिकाहरूलाई समेटी उनीहरूको मनोबल बढाउन र अध्ययनमा थप सहयोग पुगोस भन्ने उद्देश्यले शैक्षिक सामग्री कपी कलम शिक्षाकलम र विद्यालय पोशाक वितरण गरिएको छ। कार्यक्रममा गैंडाकोट नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत झविन्द्र खनाल, गैंडाकोट नगरपालिकाका शिक्षा शाखा प्रमुख डा. बालकृष्ण चापागाई, आर्थिक विकास शाखा प्रमुख देवेन्द्र गौतम, सहायक महिला विकास निरीक्षक नरमाया राना, महिला तथा बालबालिकामा कार्यरत कर्मचारी मधुमाया रानाभाट नगरपालिकाका कर्मचारी जनप्रतिनिधि लगायतको उपस्थिति रहेको थियो।
कार्यक्रमको सञ्चालन महिला तथा बालबालिका शाखा प्रमुख सीता कुमारी लामिछाने पौडेलले गर्नुभएको थियो । स्वागत मन्तव्य  महिला तथा बालबालिका शाखा अधिकृत छैठौं राधा पौडेल लम्सालले व्यक्त गर्नुभएको थियो।