विजय सामुदायिकको विजय नेशनल सस्टेनेबल टुरिजम क्लबद्वारा सरसफाई तथा डस्टबिन वितरण  

२०८२ जेठ २२ बिहीबार १८:३४:०० मा प्रकाशित

गैँडाकोट । विजय सामुदायिक शिक्षा सदनले विश्व वातावरण दिवसको अवसरमा सरसफाई कार्यक्रम गरेको छ। विजय सामुदायिक शिक्षा सदन र विजय सामुदायिक शिक्षा सदनको विजय नेशनल सस्टेनेबल टुरिजम क्लबले प्लास्टिक मुक्त शहर हामी सबैको रहर नाराका साथ मनाइएको ५३ ओैँ वातावरण दिवसको अवसरमा सरसफाई कार्यक्रममा गरेको हो। उक्त  कार्यक्रममा  दुवै  टोल सुधारलाई एक–एक वटा डस्टबिन पनि  हस्तान्तरण  गरिएको  थियो । विद्यालय परिसर सँगसँगै मातृभूमि टोल समुन्नति टोल लगायत गैंडाकोट ५ का विभिन्न स्थानमा सरसफाई गरिएको थियो। सो कार्यक्रममा विद्यालयका शिक्षक, प्रतिनिधि, विद्यार्थीहरू, टोलका प्रतिनिधिहरू लगायतको उपस्थिति रहेको थियो। 


विद्यालयका प्रधानाध्यापक एवं क्लबका संरक्षक चक्रधर पौडेलले विद्यार्थीरूले सरसफाईसँगै वातावरणको महत्व बुझेको बताउनुभएको छ। विद्यालयले विद्यार्थीलाई व्यवहारिक शिक्षा सिकाउन र उनीहरूलाई प्रत्यक्ष रूपमा वातावरणको महत्व बुझाउनका लागि विभिन्न क्लबहरू बनाउने र विद्यार्थीहरुलाई प्रत्यक्ष संलग्न गराउने काम पनि गरेको बताउनुभयो। विद्यार्थीले आफ्नो घर वरपर प्लास्टिक मुक्त बनाउनुपर्छ सरसफाई गर्नुपर्छ भन्ने कुरा विद्यालयबाट सिकेको पनि बताउनुभएको छ। 


११  सदस्यीय सो  क्लबमा शिक्षक प्रतिनिधि  सरिता भुसाल र अन्य विद्यार्थीहरू संलग्न  हुनुहुन्छ भने आजको  कार्यक्रममा सहभागी  शिक्षक विद्यार्थीलगायत  समुन्नति  टोल विकास संस्थाका प्रतिनिधि  प्रेम प्रसाद सापकोटा र बाबुराम अधिकारी  मातृभूमि  टोल विकास  संस्थाका प्रतिनिधिहरूको उपस्थितिमा  विद्यालय परिसर, कालिका मन्दिर  परिसर सरसफाइ गरि यस अभियानमा  जोडिएका थिए । विद्यालयले प्लास्टिक  मुक्त  टोल, विद्यालय परिसर, मन्दिर  परिसर बनाउन स्थानीय  स्तरमै जागरण ल्याउन र कार्यान्वयन तहमा लैजान  अनुरोध गरेको छ ।


वातावरण दिवसको दिन सरसफाई कार्यक्रममा सरिक हुन पाउँदा विद्यार्थीहरू खुसी देखिएका थिए। उनीहरूले आफूहरू वातावरण संरक्षणमा सचेत रहेको बताउँदै वातावरण संरक्षण एवम्  सरसफाई गर्न र प्लास्टिक मुक्त बनाउन सबैलाई आग्रह समेत गरेका छन्।