प्रकृतिमा आधारित समाधानमा सहमति, ३५ बढी सामुदायिक वनसँग सहकार्य गर्दै वातावरण संरक्षणमा सक्रियता

२०८२ जेठ २२ बिहीबार १८:२४:०० मा प्रकाशित

गैँडाकोट। विगत २४ वर्षदेखि सामाजिक सेवाका विभिन्न क्षेत्रमा क्रियाशील सहमति संस्था वातावरण संरक्षणमा पनि विशेष योगदान दिँदै आएको छ। संस्थाले प्रकृतिमा आधारित समाधान कार्यक्रम अन्तर्गत चितवनको कालिका नगरपालिकामा रहेको चतुर्मुखी सामुदायिक वनमा वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ।

५३औँ विश्व वातावरण दिवसको अवसरमा आयोजित कार्यक्रममा सहमतिले १०० भन्दा बढी बासका बिरुवा रोपेको संस्थाका अध्यक्ष होमनाथ सुवेदीले जानकारी दिनुभयो। उहाँले मानिसले प्रकृतिसँग सहअस्तित्वमा बाँच्नुपर्ने र प्रकृति संरक्षण गरेमा त्यसले मानवीय जीवनलाई पनि संरक्षण गर्ने धारणा व्यक्त गर्नुभयो।

सहमतिले चितवन र नवलपुरका ३५ भन्दा बढी सामुदायिक वनसँग सहकार्य गर्दै वातावरण संरक्षणका विविध कार्य गर्दै आएको छ। दुई वर्षअघि चतुर्मुखी सामुदायिक वनमै बायोड्याम (जैविक बाँध) निर्माण गरेर प्राकृतिक स्रोतको संरक्षणलाई प्रवर्द्धन गर्ने काम गरिएको अध्यक्ष सुवेदीले बताउनुभयो। प्लास्टिकजन्य फोहोर सफाइ, सिमसार क्षेत्रको विकास, मौरी पालन, माछा पालन लगायतका कार्यक्रमहरूमा पनि संस्था सक्रिय छ।

सहमतिका अनुसार, ३५ वटा सामुदायिक वनसँगको सहकार्यमा हालसम्म ४० भन्दा बढी पोखरी र सिमसार क्षेत्र निर्माण गरिएको छ। साथै मिचाहा प्रजातिका झारपात हटाउने, वन संरक्षणलाई प्रवर्द्धन गर्ने लगायतका कार्यहरूमा पनि निरन्तरता दिइएको छ।

संस्थाले भीमबली सामुदायिक वन र कालिका नगरपालिकाका अन्य सामुदायिक वनहरूसँग पनि सहकार्य गर्दै अगाडि बढिरहेको छ। कृषकलाई तराजु वितरण, वन पदाधिकारीहरूसँग समन्वयमा वन संरक्षणका कार्यक्रमहरू पनि सञ्चालन हुँदै आएका छन्।

चतुर्मुखी सामुदायिक वन समूहका अध्यक्ष हरिकुमार गुरुङले वन विकासका नाममा विभिन्न कार्यक्रमहरू सञ्चालन गर्दै आएको जानकारी दिनुभयो। उहाँले उपभोक्तालाई रोजगारीको अवसर दिन जिप सफारी सेवा सञ्चालन गरिएको र विभिन्न तालिममार्फत ज्ञान तथा सीप अभिवृद्धि गरिँदै आएको उल्लेख गर्नुभयो। सहमतिको सहकार्यमा पोखरी निर्माण र जैविक बाँध लगाउने कार्यहरूमा पनि वनले सहभागिता जनाएको छ।

त्यस्तै, भीमबली सामुदायिक वन (कालिका नगरपालिका–५) का अध्यक्ष जयचन्द्र प्रसाद चौधरीले वातावरण दिवसको अवसरमा वृक्षारोपण कार्यक्रम आयोजना गरिएको बताउँदै वन संरक्षण, सम्बर्धन तथा स्थानीयको जीविकोपार्जनमा वनको भूमिका महत्त्वपूर्ण रहेको बताउनुभयो।

कार्यक्रममा सहमतिका अध्यक्ष होमनाथ सुवेदीसँगै संस्थाका खेमराज खनाल र तारानाथ सुवेदीको पनि उपस्थिति थियो।