जयश्री सामुदायिक वनले गर्यो वातावरण दिवसका अवसरमा सम्मान एवं अन्तरक्रिया

गैँडाकोट । जयश्री सामुदायिक वन उपभोक्ता समूहले ५३ औँ विश्व वातावरण दिवसका अवसरमा सम्मान एवं अन्तरक्रिया कार्यक्रम गरेको छ। वन तथा वातावरण क्षेत्रमा लामो समयदेखि काम गर्दै आएको जयश्री सामुदायिक वनले विश्व वातावरण दिवसको अवसरमा अन्तरक्रिया कार्यक्रम गरेको हो। जय श्री सामुदायिक वनका अध्यक्ष भीमबहादुर कुमालले प्लास्टिक समुदायका लागि र पृथ्वीका लागि राम्रो नभएकाले जय श्री सामुदायिक वन क्षेत्रभित्रका सम्पूर्ण टोल विकास संस्थालाई जानकारी गराएर प्लास्टिक कम प्रयोग गर्न र वातावरणलाई सफा राख्न प्रोत्साहन गर्नलाई कार्यक्रम गरिएको बताउनुभयो । नागरिकलाई जनचेतना जगाउन पनि जय श्री सामुदायिक वनले यो कार्यक्रम गरेको उहाँले बताउनुभएको छ। वन संरक्षणको पाटोमा सँगसँगै वातावरण संरक्षणको पाटोमा पनि सबैजना सचेत र सजक हुनुपर्ने जयश्री सामुदायिक वनका अध्यक्ष भीमबहादुर कुमालले बताउनुभयो ।
यस्तै कार्यक्रममा बोल्दै गैंडाकोट नगरपालिकाका नगरप्रमुख मदनभक्त अधिकारीले वन संरक्षण गर्नु पनि वातावरण संरक्षण गर्नुको एउटा पाटो भएको बताउनुभयो। अहिले पछिल्ला मानवीय गतिविधिले विश्व वातावरण संरक्षणमा चुनौती थपेको उहाँको बुझाइ छ। वातावरण संरक्षण गर्नु, प्रकृति संरक्षण गर्नु हामी सबैको दायित्व भएको गैंडाकोट नगरपालिकाका नगरप्रमुख अधिकारीको भनाइ छ। वनजङ्गल जोगाउनु र प्लास्टिक मुक्त सहर बनाउने प्रयास गर्नु आजको पुस्ताको प्रमुख दायित्व रहेको पनि उहाँले बताउनुभएको छ। डडेलो लगायत विभिन्न कुराले पनि वातावरण संरक्षणमा असर गरेको हुनाले व्यक्ति सचेत हुनपर्ने उहाँले बताउनुभएको छ। हामीले अवस्था व्यवस्था नहेरिकन वातावरणलाई प्रदूषित गरिरहेको पनि उहाँले बताउनुभयो प्लास्टिकको व्यवस्थित प्रयोग गर्न र कम प्रयोग गर्न पनि उहाँले आग्रह गर्नुभएको छ।
कार्यक्रममा सबडिभिजन वन कार्यालय गैडाकोटका प्रमुख सुभाष अधिकारी, जय श्री सामुदायिक वनका संस्थापक अध्यक्ष टोलनाथ घिमिरे, गैँडाकोट ४ का वडाध्यक्ष तेजप्रसाद घिमिरे, गैडाकोट वडा नम्बर ५ का कार्यवाहक वडाध्यक्ष द्रोणावन सन्यासी सामुदायिक वन उपभोक्ता केन्द्रीय महासंघका सदस्य कमलप्रसाद पराजुली, गैंडाकोट पम्पिङ स्किम खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाका अध्यक्ष कृष्णप्रसाद न्यौपाने, विभिन्न टोल विकास संस्थाका प्रतिनिधि, गैंडाकोट वडा नम्बर ४ टोल विकास सञ्जाल संयोजक रामचन्द्र घिमिरे, राधाकृष्ण टोल विकास संस्थाका अध्यक्ष पार्वती सापकोटा वातावरण उपसमिति संयोजक शंकर आचार्य लगायतका अतिथिहरूले वातावरण संरक्षण वातावरणको महत्त्व र प्लास्टिकले वातावरणमा पारेको नकारात्मक प्रभावका विषयमा आफ्नो भनाइ व्यक्त गर्नुभएको थियो। उहाँहरुले सबैलाई वातावरणप्रति सजक सचेत बनेर वातावरण संरक्षण गर्न पनि आग्रह गर्नुभएको छ।
कार्यक्रममा स्वागत मन्तव्य जय श्री सामुदायिक वनका उपाध्यक्ष ढाका सुवेदीले व्यक्त गर्नुभएको थियो भने कार्यक्रमको सहजीकरण वनका सचिव टेकबहादुर आलेले गर्नुभएको थियो ।
वातावरण संरक्षणमा टेवा पुर्याउने विभिन्न टोल विकास संस्था र व्यक्तिलाई जयश्री सामुदायिक वनले सम्मान पनि गरेको छ।