गैँडाकोट ४ मा महिला सञ्जालद्वारा प्रस्तावना लेखन तालिमको सुरुवात

नवलपरासी पूर्व । वडास्तरीय महिला सञ्जाल गैँडाकोट ४ को आयोजनामा आइतबारदेखि क्षमता अभिवृद्धि तथा प्रस्तावना लेखन तालिम सुरुवात भएको छ । जयश्री सामुदायिक वनको सभाहलमा १९ वटा महिला समूहबाट ४० भन्दा बढीको सहभागिता रहेको थियो । तालिम सोमबार समापन हुनेछ । तालिममा बैठक सञ्चालन कार्यविधि निर्माण, बैठक व्यवस्थापन, माइन्यूट लेखन तथा प्रस्ताव लेखनका विषयमा सहभागिहरुको क्षमता अभिवृद्धि गराइने सञ्जालका अध्यक्ष अनिता घिमिरेले बताउनुभएको छ ।
गैँडाकोट नगरपालिका वाड नं. ४ का वडा अध्यक्ष तेजप्रसाद घिमिरेले सीप र क्षमता अभिवृद्धि गराएर महिला दिदिबहिनीहरुको नेतृत्व विकासमा सहयोग पु¥याउन वडा सधैँ तयार रहेको बताउनुभयो । सीप र ज्ञानलाई आफूमा मात्र सिमित नराखी व्यवहारमा उतार्न वडा अध्यक्ष घिमिरेले आग्रह गर्नुभयो ।
समाजसेवी व्यक्ति टोलनाथ घिमिरेले सीपलाई दैनिक जीवनमा व्यवहारमा परिणत गर्न सुझाब दिनुभयो । सञ्जालका सल्लाहकार कमला तिवारीले सक्षम भएर अरुलाई सिकाउन आग्रह गर्नुभयो । सञ्जालका सल्लाहकार संगिता घिमिरेले प्रस्ताव लेखनमा अभ्यस्त बन्न शुभकामना दिनुभयो । सहभागिका तर्फबाट शोभा ढकालले क्षमता अभिवृद्धिका लागि आयोजक संस्थालाई धन्यवाद ज्ञापन गर्नुभयो ।
दुई दिन सम्म चल्ने तालिममा विजय एफएम १०१.६ का स्टेशन म्यानेजर श्रीधर उपाध्यायले तालिमको सहजीकरण गर्नुहुनेछ । महिला सञ्जालका सचिव शोभा घिमिरेले कार्यक्रमको सहजीकरण गर्नुभएको थियो भने अतिथिहरुलाई सञ्जालका कोषाध्यक्ष लक्ष्मी कमलीले स्वागत गर्नुभएको थियो । कार्यक्रममा कार्यपालिका सदस्य शान्ता घर्ति, वडा सदस्य धनमाया परियार, पूर्व कार्यपालिका सदस्य संगिता पण्डित घिमिरे, समाजसेवी व्यक्ति रामचन्द्र घिमिरे, बामदेव घिमिरे लगायतको समुद्घाटन कार्यक्रममा उपस्थिति रहेको थियो ।