जयश्री खोलामा नवनिर्मित पुलको भार मापन

२०८२ असार २३ सोमबार १५:४९:०० मा प्रकाशित

गैंडाकोट । गैंडाकोट वडा नम्बर ८ स्थित जयश्री खोलामा नवनिर्मित पुलको भार मापन गरिएको छ । गैंडाकोट नगरपालिका वडा नम्बर ८ करमघारीमा आइतबार इन्जिनियरको टोलीसहित गैँडाकोट नगरपालिकाको टोलीले पुलको भार मापन गरेको हो । 


गैँडाकोट पूर्वाधार शाखा प्रमुख निरज कुमार क्षेत्रीका अनुसार गैंडाकोट ८ को जयश्री पुलमा उपभोक्ता समितिबाट साइटको वाल निर्माण सम्पन्न भएको र बाँकी काम नभएको अवस्थामा साटा इन्जिनियरिङ कन्सल्टेन्सी जापानको सहयोगमा मोडुलार स्टिल ब्रिजको निर्माण पुरा भएको बताउनुभयो । यो पुल अहिले जुन स्टक्चरमा छ त्यो जुन फाउन्डेसनमा पनि एडजस्ट हुने खालको छ र आवश्यकता पर्यो भने अर्को ठाउँमा सजिलै सार्न सकिने बेलिब्रिज खालको पुल निर्माण गरिएको प्रमुख क्षेत्रीले बताउनुभयो । पुलबाट सामान्य दमकल, टिप्पर लगायतका सवारि साधन पार गर्न कुनै समस्या नहुने प्रमुख क्षेत्रीको भनाई छ । ।

 
जयश्री खोलाबाट वारि पारी गर्नको लागि गाह्रो भएको बेला यो पुलले वडाबासीहरुलाई निकै सजिलो हुने वडा अध्यक्ष प्रेम सापकोटाले बताउनुभयो । वडा अध्यक्ष सापकोटाले सामुदायिक वनबाट आवत, जावतगर्न, गैडाकोट नगरभरी बसोबास गर्ने तामाङ समुदायको अन्तिम संस्कारको लागि चिहानडाँडामा जानको लागि पनि सजिलो हुने बताउनुभयो । 


मोडुलार स्टिल ब्रिजको लम्वाई २४ मिटर रहेको छ । पुल १ करोड ३२ लाखको लागतमा गौरव नेपालको ठेक्का मार्फत सम्पन्न भएको छ । पुलमा स्टिलको तौल ३४ दशमलब ८ टन बराबर रहेको छ । जयश्री खोलाभन्दा माथि पनि बस्ति रहेको छ । पुल सुरु भएपछि मुख्य रुपमा गैँडाकोट वाड नं ८ वडा बासीहरु बढि लाभान्वित हुने भएका छन् ।